झापा  : झापाको बिर्तामोडमा सञ्चालित  बिएन्डसी टिचिङ अस्पतालले  मिर्गौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु गरेको छ । 

अस्पतालले विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम आजबाट सञ्चालनमा ल्याएको आज अस्पताल परिसरमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । 

अस्पतालका सूचना अधिकारी प्रमिश  गिरीका अनुसार अस्पतालबाट कार्यक्रमअन्तर्गत नेपाल सरकारले तोकेबमोजिम मृगौलाका बिरामीहरुलाई निःशुल्क रुपमा हेमोडाइलाइसिस सेवा पाउनेछन् । 

अस्पतालबाट कुनै पनि मृगौलाका बिरामीहरुले निःशुल्क रुपमा हेमोडाइलाइसिस सेवा पाउने बताइएको छ ।  हाल अस्पातलले  पाँचवटा हेमाडाइलाइसिस मेसिनबाट सेवा दिने  र चाँडै २० वटा मेशिन थपिने सुचना अधिकारी गिरीले जानकारी दिए । 

यसैबीच, हेमाडाइलाइसिसका लागि अस्पतालमा फिस्टुला बनाउने तथा सघन उपचारको पनि व्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

निःशुल्क सेवा लिनको लागि बिरामी अस्पतालको ओपिडी वा इमरजेन्सीमा आएपछि चिकित्सकले आवश्यक स्वास्थ्य परीक्षण गरी मृगौलामा समस्या देखिएको र मृगौलाको हेमोडाइलाइसिस गर्नुपर्ने देखिएमा बिरामीको स्थायी ठेगाना भएको स्थानीय तहलाई सम्बोधन गरी विपन्न नागरिक औषधि कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस सेवाको लागि सिफरिसका लागि अस्पतालले सिफरिसपत्र उपलब्ध गराउनेछ ।

त्यस्तै, बिरामीको परिवारको सदस्यले उक्त सिफरिसपत्र सम्बन्धित स्थानीय तहमा पेस गरेपछि पालिकाको प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाको प्रमुख रहेको समितिले निर्णय गरेर निर्णयको प्रतिलिपिसहित अस्पताललाई सिफरिसपत्र पठाउनु पर्नेछ ।

स्थानीय तहको सिफारिसपत्रको आधारमा अस्पतालले बिरामीसँग सम्बन्धित अन्य आवश्यक कागजातहरु संलग्न गरेर बिएन्डसी अस्पतालको सामाजिक सुरक्षा इकाइमा पेस गरेपछि निःशुल्क हेमाडाइलाइसिस सेवा प्राप्त गर्न अस्पातालले जनाएको छ । 

डक्टर गोपाल मिश्र, डक्टर मुक्ति देवकोटा, डक्टर वासुदेव बाँस्कोटा, डक्टर राजु श्रेष्ठ, डक्टर अमितकुमार शाह लगायतको चिकित्सक एवम अन्य स्वास्थ्यकर्मीहरुको समूह ले बिरामीको उपचार गर्ने जनाइएको छ ।