सन्तोष न्यौपाने÷झापा 

झापामा अझै मोटरसाइकल चोरी हुने क्रम रोकिएको छैन ।  केही समयता जिल्लाका  मुख्य शहरमा मोटरसाइकल हराउने क्रम निरन्तर बढ्दो छ । 

यहि क्रममा आज बिर्तामोड ३ स्थित बिर्ताबजारबाट पनि एउटा मोटरसाइकल चोरी भएको छ ।  बजारमा तरकारी किन्न आएको समयमा पार्किङ गरेर राखिएको ठाउँबाटै मोटरसाइकल चोरी भएक हो । आज सांझ प्रदेश १–०२–०४७ प ९००९ नम्बरको कालो सेतो सुपरस्पेलण्डर मोटरसाइकल हराएको हो । त्यस्तै बिर्ताबजार हाटबाटै जेठ २१ गते पनि प्र १ –०१–०१२ प ६६५६ नम्बरको १६० सीसीको अपाचे मोटरसाइकल चोरी भएको थियो । तर हाल सम्म पनि उक्त मोटरसाइकल फेला पर्न सकेको छैन । यी त प्रतिनिधि घटना मात्र हुन् । 

झापाको बिर्तामोडमा अहिले मुख्य बजार सहित पार्किङ गरेको स्थानबाट दैनिक जसो मोटरसाइकल चोरी भइरहेको छ । तर हराएको तुलनामा नगन्य मात्रामा मात्र मोटरसाइकल भेटिने गरेको छ । 

 प्रहरीका लागि मोटरसाइकल चोरी नियन्त्रण गर्ने मुख्य चुनौती बनेको छ । पछिल्लो समय मोटरसाइकल चोरी गर्न संगठीत गिरोह सक्रिय रहेको प्रहरीले जनाएको  छ । प्रहरीले केहि महिना अघि केहि थान चोरीको मोटरसाइकल र चोरीमा संमलग्नलाई पक्राउ समेत गरेको थियो । तथापी अझै चोरी रोकिएको छैन । दरबन्दी अनुसारको कर्मचारी र स्रोत साधन अभावले प्रहरीले सक्रियताका साथ काम गर्न नसकेको बताइन्छ ।  

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश बिष्ट भने मोटरसाइकल चोरीमा कमी आएको दाबी गर्छन । उनले पहिलेको तुलनामा चोरी हुने क्रम घट्दो बताए । साथै  चोरी नियन्त्रणमा प्रहरी परिचालन गरिंदै आएको उनी बताउंछन् । 

उनले मोटरसाइकल सहित अन्य चोरीको घटनामा आवश्यकताका आधारमा सादा पोशाकका प्रहरी परिचालन गरिने गरिएको बताए । उनले सादा पोशाकमै डिउटी गर्ने गरी प्रहरी परिचालन नगरिएको दाबी गरे । तथापी बिर्तामोड इप्रकामा सादा पोशाकमा केहि प्रहरी परिचालन गरिंदै आइएको छ । 

सादा पोशाक (घुमुवा)का प्रहरी हटाउन गृह मन्त्रालयले २०८० चैत्र १५ गते निर्देशन दिएको थियो । घुमुवा प्रहरी गैर–व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले सादा पोशाकका प्रहरी हटाउन निर्देशन दिएको थियो । तर त्यसको कार्यन्यन यहां भने भएको छैन । 

स्थानीय भने  सादा पोशाकका प्रहरी हाकिमले अन्य प्रयोजनमा हटाउने गरेको आरोप लगाउंदै आएका छन् ।  चोरीमा संमलग्न गिरोह पक्राउ गर्न बिर्ताबजार क्षेत्रमा बिशेष गरी सोमबार र बिहिबार लाग्ने हाट बजारमा इप्रका बिर्तामोडले सादा पोशाकका प्रहरी परिचालन गर्नु पर्ने स्थानीय बताउंछन् ।  

प्रहरीका अनुसार दैनिकजसो नै मोटरसाइकल चोरी भएको निवेदन पर्ने गरेको छ ।  कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ गरेर राखिएको ठाउँबाटै मोटरसाइकल चोरी हुंदा सर्वसाधारण आजित बनेका छन् ।