बिर्तामोड :  खुकुरी प्रहार गरेर भागेका भतिजलाई दुई साता बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न  सकेका छैन ।  अर्जुनधारा–१ का ४६ वर्षीय टंकबहादुर एक्तेनमाथि १८ दिनअघि जेठ ८ गते राति आफ्नै भतिज कृष्ण भनिने सन्तोष एक्तेनले खुकुरी प्रहार गरेका थिए ।

घाइते एक्तेनकी छोरी सलिनाका अनुसार सन्तोषले माछापालक किसान टंकबहादुरमाथि घरनजिकै रहेको माछापोखरीको डिलमा बनाइएको छाप्रोमा सुतिरहेको बेला अचानक राति साढे ११ बजे आक्रमण गरेका हुन् । 

घाइते टंकबहादुरको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । भतिजको खुकुरी प्रहारबाट  टंकबहादुरको दुवै खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । घटनालगत्तै पीडितकी छोरी सलिनाले सन्तोषविरूद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले आरोपित अहिलेसम्म फरार रहेको र खोजी कार्य जारी रहेको बताए । उनले आरोपितको खोजीकालागि इलाम सम्म टोली परिचालन गरिएको भए पनि फेला पर्न नसकेको बताएका छन् । 

खुकुरी प्रहार गर्ने सन्तोषको आचरण घर समाजमा पनि उदण्ड स्वभावको रहेको र जग्गाको विवादमा खुकुरी प्रहार भएको बुझिएको इप्रका अनारमनीका डिएसपी विष्टले जानकारी दिए । 

घटनाको यती लामो समय बितिसक्दा समेत प्रहरीले खुकुरी प्रहार गर्ने सन्तोषलाई पक्राउ गर्न नसकेको भन्दै घाइतेको परिवार तथा स्थानीय आक्रोशित छन् ।  काका टंकबहादुरमाथि खुकुरी प्रहार गर्ने सन्तोषविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।