मेचीनगर ः उच्च अदालत बिराटनगरले काँकडभिट्टाको होटल हिकोला हेरिटेजको सञ्चालनसम्बन्धी अल्पकालीन अन्तरिम आदेश जारी गरेको चार महिना बितिसक्दा समेत कार्यान्वयन हुन सकेको छैन ।

जसका कारण होटल सञ्चालक देबीभक्त श्रेष्ठले आफुलाई अन्याय भएको बताएका छन् ।

होटलको सञ्चालनसम्बन्धीको विवादमा व्यवसायी देवीभक्त श्रेष्ठलाई होटल सञ्चालन गर्न दिन फुगन छ गते उच्च अदालत बिराटनगरले अल्पकालीन आदेश जारी गरेको थियो ।

hicola-adalat-adesh-1 1

अदालतका न्यायाधीश किरण पौडेलले उक्त आदेश जारी गरेका थिए ।  उच्च अदालत बिराटनगरले घरधनी विष्णुमाया श्रेष्ठ दाहालको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो तर यतीका महिना भइसक्दा समेत आदेशको कार्यन्वयन हुन सकेको छैन ।  

श्रेष्ठले होटल सञ्चालनका निम्ति मेचीनगर–६ स्थित काँकडभिट्टाका स्थानीय विष्णुमाया श्रेष्ठ दाहालको घर १५ वर्षका लागि लिखित सम्झौता गरी भाडामा लिएका थिए । अदालतले होटल संचालक श्रेष्ठलाई होटल सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

तर, घरधनी दाहालले होटल  सञ्चालन सम्बन्धी विवादमा अदालतले दिएको आदेशको अवज्ञा गरेको सञ्चालक श्रेष्ठ बताउंछन् । मेचीनगर नगरपालिकाको न्यायिक समिति र मेची उद्योग वाणिज्य संघको पहलबाट समाधान आउन नसकेपछि होटल सञ्चालक श्रेष्ठ त्यसबेला न्यायकालागि  उच्च अदालत गएका थिए ।

यता लामो समय सम्म आदेश कार्यन्वय नभएको अबस्थामा  होटलको विवाद मिलाउन छलफल अघि बढाइएको छ । होटल व्यवसायी संघ झापाको पहल र होटल व्यवसायी संघ कांकरभिट्टाको समन्वयमा  घरधनी र होटल संचालकबीच अदालतको आदेश कार्यान्वयनका लागि बिहीवार पहिलो चरणको छलफल भएको हो । 

होटल व्यवसायी संघ मेचीनगरको कार्यालयमा  घरधनी विष्णुमाया श्रेष्ठ दाहाल र होटल संचालक देवीभक्त श्रेष्ठबीच विगतदेखिको विवादलाई नलम्ब्याई अदालतको आदेशलाई कार्यान्वयन गर्दै निकास खोज्ने विषयमा छलफल भएको होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले बताए ।

यद्यपि छलफल निष्कर्षमा पुग्न नसकेको उनले बताए । घरभाडाका विषयमा कुरा नमिलेपछि दुवैतर्फका कानुन व्यवसायी र लेखा अधिकृत राखेर हरहिसाव गर्ने गरी पर्सी आइतवार अर्को बैठक बोलाइएको महासचिव पौडेलले बताए ।

अदालतले दिएको आदेश

अदालतको आदेश चार महिनासम्म कार्यान्वयन नभएपछि होटल संचालक श्रेष्ठ बिहीवार प्रहरी प्रशासनलाई खबर गरेर विवाद भएको काँकडभिट्टास्थित होटल हिकोला हेरिटेज गएको सञ्चालक श्रेष्ठको भनाई छ ।  

उनीसंगै होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठ , महासचिव शिवराज पौडेल , शनिश्चरे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ध्रुव प्रधान , महिला अगुवा समाजसेवी लीला मैनाली र सञ्चारकर्मीको  टोली पुगेका थिए ।

सोही टोलीसंग मेचीनगर होटल व्यवसायी संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठको रोहवरमा छलफल भएको थियो । छलफलमा मेचीनगर होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष मानबहादुर गिरी, अर्का घरधनी पशुपति दाहाल , होटल संचालक गौरव श्रेष्ठको पनि उपस्थिति थियो ।

अदालतले आदेश दिइसक्दा पनि त्यसलाई कार्यान्वयन गराउन प्रहरी प्रशासनले सहयोग नगरेको होटल संचालक देवीभक्त श्रेष्ठको गुनासो छ ।

घरधनी र होटल सञ्चालकबीच घरभाडा सम्झौता कार्यान्वयनका विषयमा विवाद देखिएको हो । विवाद साम्य पार्न नगरपालिकाले मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाई, डिल्लीराम घिमिरे, सुरेन्द्र बुढाथोकी, माधव अर्याल, न्यायिक समितिका सदस्य कुन्दन निरौलासहितको एउटा मध्यस्थता समिति गठन गरेको थियो । तर , त्यस समितिले निष्पक्ष रुपमा काम गर्न नसकेको आरोप छ ।