बिर्तामोड :
झापा बिर्तामोडका सुनचाँदी व्यवसायी रुपदल विश्वकर्मा (राजु धमला) नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्षमा र केन्द्रिय सदस्यमा राजकुमार गुप्ता निर्वाचित भएका छन् ।
असार १५ गते भएको महासंघको चौथो महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा धमला) र केन्द्रीय सदस्यमा गुप्ता निर्वाचित भएका हुन् ।
आइतबार बिहान आएको मतपरिणाम अनुसार बिर्तामोड स्थित सुशान्त ज्वेलर्सका सञ्चालक धमला तृतीय उपाध्यक्षमा २४३ मत प्राप्त गर्दै विजयी भए । त्यस्तै, राज ज्वेलर्सका सञ्चालक गुप्ता लोकप्रिय मतका साथ विजयी भए ।
संघको झापा समितिको लगातार तीन कार्यकाल अध्यक्ष, कोशी प्रदेशको अध्यक्ष तथा केन्द्रीय सदस्य भइसकेका धमला र झापाको एक कार्यकाल अध्यक्ष र केन्द्रीय सदस्य भइसकेका गुप्ता दुवैजना सुनचाँदी व्यवसायीहरुको हकहितका लागि सधैँ लडिरहेका व्यवसायी हुन् ।
आम व्यवसायीबीच लोकप्रिय उनीहरुले न्याय, समानता, समावेशी र गतिशील महासंघको लागि चुनावी माहोलमा होमिएको बताएका थिए ।
चौथो महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा चितवनका अर्जुन रसाइली विजयी भए । धमला र गुप्ता रसाइली प्यानलबाटै उम्मेदवार थिए । रसाइलीले विपेन्द्र रामुदामु विपिनलाई १३५ मतले हराए । धमलाले मनोजकुमार शाहलाई ५६ मतले हराए ।
निर्वाचनमा ४३५ जना प्रतिनिधिहरुले मतदान प्रक्रियामा भाग लिएका थिए । महाधिवेशनमा ४४६ जना प्रतिनिधिहरु रहेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुमार भट्टराई, पूर्वउपाध्यक्ष सञ्जीव घिमिरे, छठ समाज सेवा समितिका पूर्वअध्यक्षसहितको टिम धमला तथा गुप्तालाई जिताउन काठमाडौँ पुगेको थियो ।