बाहुनडाँगी : 

सभामुख देवराज घिमिरेले नेपालमै पहिलोपल्ट मेचीनगर वडा नं. ४ को बाहुनडाँगीमा सञ्चालनमा ल्याइएको हात्ती आगमनको सूचना दिने ‘जीपीएस एप्स’को उद्घाटन गरेका छन् ।  जीपीएस स्वीच अन गर्दै सभामुख घिमिरेले आज एक कार्यक्रमकाबिच एप्सको उद्घाटन गरेका हुन् । 

 हात्तीलाई तर्साउने र लखेट्ने पुरानो तरिका छाडेर अब सहअस्तित्वका आधारमा हात्तीमैत्री वातावरण निर्माण गरेर मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्ने उनले धारणा राखेका थिए । 

भारतबाट एकैखेपमा सयभन्दा बढी जंगली हात्ती नेपाल छिर्ने गौडाको रुपमा चिनिएको बाहुनडाँगीको छोटी भन्सारमा नियन्त्रण कक्ष राखेर यो एप्स आजदेखि सञ्चालनमा ल्याइएको हो । 

बर्दियाको उज्यालो नेपाल र समाजका लागि युवा सहकार्य नामक संस्थाको संयुक्त पहलमा यो प्रविधि बाहुनडाँगीमा ल्याइएको वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए ।  यसका लागि इसिमोडले आर्थिक सहयोग गरेको छ ।

हात्ती कहाँ डुलिरहेको छ र कता जाँदैछ भन्ने जानकारी सर्वसाधारणबाट लिएर आरआरटी नामक स्वयम्सेवी युवाहरुको समूहलाई जानकारी दिने र आवश्यक परेमा नजिकको प्रहरीसमक्ष सूचना पुर्याउने कार्य नियन्त्रण कक्षले गर्ने बताइएको छ ।

गाउँमा हात्ती आएपछि जोकोहीले यो एप्स खोलेर आफनो लोकेसन एट्याच गर्न सक्छन् । जसका कारण नियन्त्रण कक्षमा साइरन बज्ने व्यवस्था मिलाइएको छ । अर्थात हात्ती गाउँ पसेको सूचना एप्समार्फत साइरनले दिनेछ ।

यो प्रविधि जीपीएस प्रणालीमा आधारित भएको उज्यालो नेपालका विज्ञ रमेश नेपालले बताए ।  एप्स निर्माणमा रु. १० लाख खर्च भएको वडाध्यक्ष कार्कीले बताए ।