झापा–

झापाको निर्वाचन क्षेत्र नम्बर २ मा संघीय तथा प्रदेश सरकारमार्फत २ अर्ब १४ करोडका योजना कार्यान्वयनमा आउने भएका छन् ।

बिर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा आगामी आर्थिक वर्षमा १२१ वटा योजनामा २ अर्ब १४ करोड रुपैयाँ खर्च हुन लागेको हो ।

क्षेत्र नम्बर २ का सांसद समेत रहेका प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको अग्रसरतामा २ अर्ब रुपैयाँभन्दा बढी विकास बजेट भित्रिन लागेको स्वकीय सचिव केशव ढुंगेलले बताए ।

‘सम्भवत लामो समयपछि झापा २ मा यति धेरै बजेट भित्रिएको हो’, स्वकीय सचिव ढुंगेलले भने, ‘सामरिक महत्वका अरु आयोजनामा समेत बजेट आउने आधार तयार भएको छ ।’

सभामुख घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा विकास आयोजनाका २० वटा प्राथमिकता तय गरेका छन् । तिनै प्राथमिकताका आधारमा बजेट विनियोजन भएको हो ।

सभामुखको सचिवालयका अनुसार कोशी प्रदेशबाट मात्रै झापा क्षेत्र नम्बर २ मा विभिन्न विकास आयोजना कार्यान्वयनका लागि ४० करोड रुपैयाँ विनियोजन भएको छ ।

बिर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिका समेटिने गरी चक्रपथ निर्माण गर्न २ करोड ६२ लाख रुपैयाँ छुट्टिएको छ ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालाको पुनर्निर्माण गर्न एक करोड रुपैयाँ बजेट विनियोजन भएको स्वकीय सचिव ढुङ्गेलले बताए ।

बिरिङ खोलाका विभिन्न तीन स्थानमा पुल निर्माण योजना पनि सभामुख घिमिरेको प्राथमिकतामा छ । अदुवा खोला कोरिडोर निर्माणमा पनि सभामुखको ध्यान गएको छ ।

आगामी आर्थिक वर्षका लागि ५६ वटा योजना सहरी विकास मन्त्रालयबाट परेका छन् । बिर्तामोडको मोहनमाया माविको भवन निर्माणका लागि पनि बजेट परेको छ ।

सहरी विकास मन्त्रालयले बिर्तामोड नगरपालिकालाई सहरी विकास अनुदानका लागि २८ करोड २० लाख बजेट छुट्याएको छ ।

स्वास्थ्य मन्त्रालयले बुद्धशान्तिमा २ करोड ९ लाख, कनकाईमा ३ करोड १४ लाख, बिर्तामोडमा ३ करोड ५९ लाख र अर्जुनधारामा ११ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।