अर्जुनधारा – 

टेक बहादुर गिरी बसपार्कका नागरिकहरुको समस्या सामधानमा आफु प्रतिबद्धत रहेको अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देनले बताएका छन् । 

सर्वोच्चको फैसलापछि बसपार्क बासीमा एक किसिमको अन्योलता सृजना हुंदा उनीहरु दुःखी भएको भन्दै सुरक्षा प्रदान गर्न र समस्या हल गराउन आफू प्रतिबद्ध रहेको नगर प्रमुख  गोम्देनले शनिबार सभामुख देवराज घिमिरेको अगुवाईमा नगरपालिकामा भएको  छलफलमा त्यस्तो बताएका हुन् । 

नगर प्रमुख गौम्देनले बसपार्कबासीलाई कसैले विस्थापित गर्न नसक्ने बताउंदै नागरिकको सम्पत्तिको सुरक्षामा पूर्ण रुपमा सहयोग गर्ने विश्वास दिलाए । 

विदेशमा कमाएको पैसा र पहाडमा भएको सारा सम्पत्ति बेचेर बसपार्कमा नागरिकले घर जग्गा खरिद गरेको जानकारी दिए । बसपार्कमा राज्यको ठुलो लगानी समेत भइसकेको छ, नगर प्रमुख गोम्देनले भने – नागरिकको स्थायित्वको लागि राज्यले लगानी गरेको हो । नागरिकलाई उठाउने कुरा सोच्न सकिन्न ।

बसपार्क क्षेत्रका नागरिकहरुलाई संरक्षण गर्ने बताएका उनले विस्थापित गर्न कसैले नसक्ने दावी गरे । यस क्षेत्रले सभामुख पाएका कारण बसपार्कबासीको जग्गा सुरक्षित हुनेमा आफु विश्वस्त रहेको बताएका छन् । उनले मालपोतका प्रमुखलाई तत्काल माथिल्लो तहबाट काम कारबाही अघि बढाउने गरि निर्णय गराउन आग्रह समेत गरेका छन् । 

स्थानीय सरकारले विगतमा दिएकै सुविधा दिएको हो, नयाँ केहि गरेका होइनौ । स्थानीय तहबाट दिंइदै आएको  सिफारिसहरु भने नगर र वडाबाट नरोकिएको स्पष्ट पारे ।