विर्तामोड : 

झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकको  १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बिर्तामोडमा बैंकले बार्षिक साधारणसभा सम्पन्न गरेको हो । 

बैंकले यस गत आर्थिक बर्षमा ५ करोड १२ लाख २१ हजार ६२१ खुद नाफा गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ । बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोयलले 

कोरोना पछि देशमा देखिएको आर्थिक संकटका कारण बैंकले लक्ष्य अनुरुप प्रगती गर्न नसकेको बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलले बताए । 

उनले  लगानीको वातावरण भरपर्दो नहुंदा तथा बैंक प्रति बिभिन्न तत्वले फैलाएको नकारात्मक हल्लाका कारण प्रवाह गरिएका कर्जा तथा ब्याज समयावधिमा फिर्ता नआउंदा समस्या देखिएको प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष गोयलले बताए ।  

साधरणसभाको प्रमुख अतिथि रहेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कोरोना पछि देखिएको आर्थिक संकुचनसंगै रसिया र युक्रेन युद्धका कारण थला परेको अर्थतन्त्रमा केहि सुधारको संकेत देखिएकाले अर्थतन्त्र विस्तारै सामान्य अवस्थामा फर्किने विश्वास ब्यक्त गरे । देशको समृद्धि र विकासकालागि अर्थतन्त्रमा सुधार आवश्यक रहेको बताउंदै उपाध्यक्ष ढकालले मुलुकमा स्थायी सरकार नबने सम्म आर्थिक क्षेत्रमा समस्या निम्तीरहने बताए । उनले देशमा दुई ठुला राजनितिक दल मिलेर सरकार बन्न लागेकाले त्यसबाट केहि  सुधार हुन सक्ने विश्वास ब्यक्त गरे ।  

साधारणसभामा संस्थापक शेयर सदस्यहरुका तर्फबाट डा रुपक खनाल र सुरेशकुमार अग्रवालले बैंकको अवस्थालाई थप सुधार गर्दै लैजान आवश्यक रहेको बताए । उनीहरुले  सञ्चालक समिति र व्यवस्थापनले  खराब ऋणलाई उठाउन  विभिन्न योजनाहरु ल्याउन आवश्यक रहेको भन्दै सोहि अनुसार काम गर्न  सुझाव दिएका थिए ।  

त्यस्तै साधारण सभामा बैंकको वर्तमान र भावी योजनाको  बारेमा जानकारी दिदैं प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले बैंकलाई प्रविधिमा अझ सुधार गर्दै लैजाने बताए । 

कोशी प्रदेशकै पहिलो प्रादेशिक बैंकका रुपमा रहेको एक्सेल बैंकले आगामी आर्थिक बर्षमा धनकुटा र संखुवासभामा शाखा बिस्तार गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । 

बैंकले झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर र उदयपुर जिल्लामा  ४५ वटा शाखाबाट सेवा प्रवाह गरिरहेको सुचना प्रविधि बिभाग प्रमुख समिर न्यौपानेले जानकारी दिए ।  

 बैंकका सञ्चालक सदस्य राजन शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन बैंकका मानव संसाधन विभागका प्रमुख श्यामबहादुर बोहराले गरेका थिए ।