झापा । झापाको हल्दिबारी गाउँपालिकाले गाउँपालिभित्रका कृषक तथा उद्यमी महिलाहरुलाई विभिन्न उपयोगी सामग्री उपलब्ध गराएको छ ।

गाउँपालिका परिसरमा आज सोमबार आयोजित एक समारोहका बीच पाँचवटै वडाबाट छनोटमा परेका २०१ जना कृषकलाई विद्युतीय स्प्रे र १७५ जना कृषकलाई मकै रोप्ने आधुनिक मेसिन हस्तान्तरण गरिएको छ भने १८ जना महिला उद्यमीलाई मागअनुसार सिलाई मेसिन, पिको मेसिन, इन्टरलक मेसिन, टेबल–सोकेस, इन्भर्टर–ब्याट्री, हेयर ड्रायर क्लिमिङ, स्ट्रेट आइरन, दुई वटा उद्यमी समूहलाई इलेक्ट्रिक सिलाई मेसिन र टेबल सोकेस प्रदान गरिएको हो ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को कार्यक्रमबाट लागत सहभागितामा लगभग १५ लाख मूल्यबराबरका सामग्री वितरण गरिएको थियो ।

गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा आयोजित सामग्री हस्तान्तरण समारोहमा प्रमुख अतिथि झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य एवम् पूर्व उपप्रधान, उर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङदेन, गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर ९महेन्द्र० वन, राप्रपा झापा अध्यक्ष केशवप्रसाद ओझालगायतले कृषक तथा उद्यमीहरुलाई सामग्री हस्तान्तरण गरेका थिए ।

h-768x576

गाउँपालिकाको प्रशासनतर्फका राजन न्यौपानेले सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि लिङदेनले प्राप्त गरेका सामग्रीको भरपूर उपयोग गरी उत्पादकत्व बढाउन एवम् उद्यमशीलताको विकास गर्न कृषक तथा उद्यमीहरुलाई आग्रह गरे ।

नेपाललाई कृषिप्रधान देश भनिए पनि वर्षेनि अरबौं रुपैयाको खाद्यान्न, तरकारी तथा फलफूल आयात भइरहेको भन्दै पूर्वमन्त्री लिङदेनले प्राप्त सामग्री उपयोग गर्दै कम्तीमा आत्मनिर्भर बन्न पनि किसानलाई आग्रह गरे ।

गाउँपालिका अध्यक्ष लिङदेनले विगतमा शतप्रतिशत अनुदानमा सामग्रीहरु वितरण गरिएकोमा त्यसबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको जनाउँदै यसपटक कृषकले अपनत्व ग्रहण गरुन् र सामग्रीको पूर्ण सदुपयोग होस् भन्ने अभिप्रायले लागत सहभागितामा सामग्री हस्तान्तरण गरिएको बताए ।