झापामा एक वर्षको अवधिमा छ जना मानिस र चार वटा हात्तीको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छ जना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार वटा हात्ती मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । 

झापामा आव २०६७÷०६८ देखि आव २०८०÷०८१ सम्म ६० जना मानिस र २१ वटा हात्तीको मृत्यु भएको छ । जसमध्ये सात जना गैरनेपाली रहेको कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् । 

विगत १४ वर्षमा चार हजार पाँच सय हात्तीपीडितलाई रु नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ । झापामा २५ देखि ३० वटा रैथाने हात्ती रहेका छन् । जसमध्ये १० वटा रैथाने हात्तीको नामाकरण समेत गरिएको छ ।

पछिल्लो समय हात्तीलाई जंगलभित्रै रहने वातावरण निर्माण गर्न वनभित्र सिमसार, हात्तीफल, केरा, बाँस लगायतका हात्तीले मन पराउने आहारा लगाउन थालिएको छ । हात्ती प्रभावित क्षेत्रमा टर्चलाइट, साइरन लगायतका सामग्री वितरण गरिएको कार्यालयका वन अधिकृत ऋषिराज पराजुलीको भनाई छ ।