झापा :  कांकरभिट्टा स्थित मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा लक्ष्यको ७७ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । 

गत आवमा भन्सार कार्यालयले लक्ष्यको ७७. ७९  प्रतिशत अर्थात १४ अर्ब २३ करोड १३ लाख ८४ हजार  राजस्व असुली भएको कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । कार्यालयले गत आवमा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजश्व संकलनको लक्ष्य पाएको थियो । 

मेची भन्सार कोइला र सुपारी आयात हुने मुख्य नाकामा पर्छ । तर कोइला बङ्लादेश सरकारका बिभिन्न कारणले आछामबाट पैठारी नभएको, सुपारीमा पनि कोटा सिस्टम लागु भएको  पेट्रोलियम पदार्थ आयातमा कमी भएको र मुलुकमा देखिएको आर्थिक मन्दीका कारण अन्य वस्तुको आयात बढ्न नसकेकाले राजस्व असुलीको लक्ष्य पूरा गर्न नसकिएको प्रमुख भन्सार अधिकृत रेग्मीको  भनाई छ । 

सय भन्दा माथिको सामानमा भन्सार राजस्व लगाउनुका साथै ग्रामीण क्षेत्रबाट हुने राजस्व चुहावट रोक्न नियमित रुपमा भन्सार गस्ती बढाइएको मेची भन्सारले जनाएको छ । 

पूर्वीनाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालय भुटान र बङ्गलादेशसहित उत्तरी भारतको पश्चिम बङ्गाल, सिक्किम र आसामसम्म हुने व्यापारको राजस्व सङ्कलन गर्ने निकाय हो। तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुने गर्दछ।