इलाका प्रहरी कार्यालय भेडेटारलाई सम्मान गरिएको छ । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याउन प्रशासनीक क्षेत्रबाट महत्वपूर्ण सहयोग गरेको भन्दै इप्रका भेडेटारलाई सम्मान गरिएको हो । 

 भेडेटारमा सञ्चालनमा ल्याइएको स्काइ टावरको उद्धघाटन कार्यक्रममा बन्डर्स अम्युजमेन्ट पार्कस् एण्ड अल्ट्राक्सन्स प्रालिले इप्रका भेडेटारका इन्चार्ज प्रहरी नायव निरीक्षक जिवन कार्कीलाई सम्मान गरेको हो ।

पर्यटकीय नगरी भेडेटारको नेतृत्व सम्हालेसंगै इप्रका कार्यालय भेडेटारका प्रहरी नायव निरीक्षक कार्कीले स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघ–संस्था, होटल ब्यवसायी, राजनीतिक दल तथा स्थानीयसंग समन्व्य र सहकार्य गर्दै शान्ति सुरक्षाका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न महत्वपूर्ण योगदान गरेका छन् । 

उनलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्मान गरेका हुन् ।  उक्त टावरको कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्की, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

धनरान र धनकुटाको सिमानामा अवस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ मा ११ रोपनी वन क्षेत्रफलमा रु २० कारोड लगानीमा टावर निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जिव रोकाहाले जानकारी दिए ।

आगामी दिनमा यस टावरमा बञ्जी जम्प, जीपलाइन र फ्रिफल जस्ता साहसिक खेल सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ ।