झापा । सीमावर्ती झापा गाउँपालिकाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दमक नगरपालिकाका तीन जना युवा पक्राउ परेका छन् ।

हिजो दिउँसो ३ः१० बजे झापा गाउँपालिका वडा नम्बर १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले को।३२ प ८९७४ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दमक १२ बस्ने २६ वर्षीय मनिश थापाले कालो प्लाष्टिकको पोका भुइँमा फाली भाग्न खोजेका थिए ।

उनीसँगै रहेका दमककै २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कट्वाललाई समेत नियन्त्रणमा लिई उक्त कालो प्लाष्टिकको पोका खोली हेर्दा ३ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य जारी रहेको प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।