झापा

झापाको मेचीनगरमा नसर्ने रोग रोकथाम तथा व्यवस्थापन सम्बन्धित केएचडीसी स्वास्थ्य कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता भएको छ ।

उक्त कार्यक्रमका लागि मेचीनगर नगरपालिका, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र केएचडीसी नेपाल बीच त्रिपक्षी सम्झौता भएको हो । 

सम्झौता पत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख गोपाल चन्द्र बुढाथोकी, प्रतिष्ठानका तर्फबाट उपकुलपति डा। ज्ञानेन्द्र गिरी र केएचडीसी नेपालका तर्फबाट अध्यक्ष डा। राजेन्द्रप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् । 

मेचीनगरभरिका ४० वर्ष भन्दा माथि उमेर समूह र नसर्ने रोगको जोखिम भएका नगरबासीको मृगौला, उच्च रक्तचाप, मधुमेह, मुटु तथा फोक्सो सम्बन्धी रोगहरुको जाँच तथा खोजपताल गर्दै भविष्यमा हुन सक्ने स्वास्थ्य जोखिमतालाई न्यूनीकरण गर्नका लागि २०८१ भदौ ६ देखि सञ्चालन गर्ने त्रिपक्षीय सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा नसर्ने रोग रोकथाम र व्यवस्थापन सम्बन्धी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन, नसर्ने रोगको जोखिममा रहेका जनसंख्याको पहिचान र रिफरलमा महिला स्वास्थ्य स्वयम्सेविकाको संलग्नता गराउने, स्वास्थ्य केन्द्रहरूमा मुटु रोग, मधुमेह, उच्च रक्तचाप र दीर्घकालीन मृगौला रोगको लागि उच्च जोखिम भएका व्यक्तिहरूको जाँच गर्ने लगायतका बुँदा समेटिएको छ ।

यसैबीच, मेचीगनर क्षेत्रका प्राथमिक तहका स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धिका लागि दुई दिने तालिम शुरु भएको छ । नगरका ६० जनालाई नसर्ने दिर्घरोगहरुको प्राथमिक तहमा रोकथाम, सीघ्र निदान, उपचार तथा व्यवस्थापन सम्बन्धी क्षमता अभिबृद्धि तालिम शुरु भएको हो ।

तालिम उद्घाटन समारोहमा कोशी प्रदेशका स्वास्थ्य सचिव राधिका थपलियाले पछिल्लो समयमा अस्पतालमा नसर्ने रोगका बिरामीको चाप बढ्दै गएको बताइन । 

त्यस्तै, मेचीनगर नगरपालिका उपप्रमुख मिना पोखरेल उप्रेतीले नगर क्षेत्रमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको बताइन । 

कार्यक्रममा डा। सञ्जीव शर्माले नसर्ने रोगका बारेमा प्रस्तुति दिनुएका थिए ।   स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी, डा। अनुप घिमिरे लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले गरेकी थिइन ।