मोरङको ग्रामथान गाउँपालिका –४ कटरीयाबाट प्रहरीले  ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।  जुवा खालबाट प्रहरीले गोप्य सुचनाका आधारमा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनालाई पक्राउ गरेको हो । 

जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले राति ८ बजे छापा मारेको थियो ।  जुवाको खालबाट प्रहरीले १८ लाख ५१ हजार ५ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी तथा प्रबक्ता ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । 

कटहराको बाँसघारीभित्र लामो समयदेखि अवैध जुवा खाल चलिरहेको थियो ।  पक्राउ परेकाको साथबाट र जुवा खालबाट १८ लाख ५१ हजार ५ सय रूपैयाँ नगद, १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको छ । 

 खालमा मधेस प्रदेशको महोत्तरी, कोशी प्रदेशकै धरान, दमक, दुहबी लगायतका स्थानमा घर भएकाहरू पनि जुवा खेल्न पुग्ने गरेका थिए । जुवा खेलिरहेका ग्रामथानका पूर्वअध्यक्ष ग्रामथान–४ का ५९ वर्षीय शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, दुहबी

नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा पक्राउ परेका हुन् । तर पक्राउ परेकाको विवरण माग्दा प्रबक्ता बस्नेतले म्याद थप पश्चात मात्र दिइने बताए । 

पक्राउ पर्नेमध्ये शिवनारायण २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । 

download-15-1024x300 (1)

इलाका प्रहरी कार्यालय हरैँचा तथा बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले जुवा खालमा छापा हानेको थियो । 

बा प्र.०१–०२०च९७३७, बा१५च ६७३०, बा१५च७२८१, बा १८च ३७०२,बा १८च ‘‘४८५०,बा १ज ५९१६, बा १८च ४५६५ नं को गाडी समेत नियन्त्रणमा लिइएको भए पनि प्रहरीले गाडि भने नियन्त्रणमा नलिएको जनाएको छ । राजनीतिक दबाब तथा आर्थिक प्रलोभनका कारण प्रहरीले गाडि पक्राउ गरिएको बारे बताएको छैन । मोरङका प्रहरी प्रबक्ता बस्नेतले गाडि नियन्त्रणमा नलिएको दाबी गरे ।  अर्जुन तुम्रुकको गाडी छोड्न प्रहरीलाई दबाब दिइरहेको बुझिएको छ ।