झापा । पछिल्लो २४ घण्टामा झापामा २९५ मिलिमिटर वर्षा भएको छ । जसले चेतावनी तह पार गरेको हो । जल तथा मौसम विभागका अनुसार कोशी प्रदेशको झापामा अतिभारी वर्षा भएको छ ।

झापाका अधिकांश ठाउँमा पछिल्लो २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । चन्द्रगढीमा सबैभन्दा बढी २६३ मिलिमिटर वर्षा मापन भएको छ ।

त्यस्तै केचनामा पछिल्लो २४ घण्टामा २२२ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै इलाममा समेत अति भारी वर्षा भएको छ । इलाममा पछिल्लो २४ घण्टामा २३७ मिलिमिटर वर्षा भएको छ ।

झापाको गौरादह र अनारमनी बिर्तामा पनि २ सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । यसैबीच, अविरल वर्षाका कारण आएको बाढीले झापाको कचनकवलमा एउटा मोटरसाइकल बगाएको छ ।

आज दिउँसो अन्दाजी १२ः२० बजेको समयमा कचनकवल २ स्थित अमुलफुटा खोला तर्ने क्रममा प्र १–०२–०५प ६९७८ नम्बरको मोटरसाइकल खोलाले बगाएको हो ।

मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय रविन भट्टराई भने सकुशल रहेका छन् । प्रहरी चौकी पथरियाबाट टोली खटिएर मोटरसाइकल खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।