बिर्तामोड :  झापामा पहिलोपटक हुन लागेको हक्की च्याम्पियनसिपको तयारी पुरा भएको आयोजक झापा जिल्ला हक्की संघले जनाएको छ ।

असोज २४ गते भद्रपुरको पुहाँतु जनज्योति माविको खेल मैदानमा हुने दसैँ कप हक्की फाइभ एस पुरुष तथा महिला च्याम्पियनसिपको तयारी पूरा भएको हो ।

झापा जिल्ला हक्की संघका अध्यक्ष मनोज बुढाथोकीका अनुसार प्रतियोगितामा पुरुषतर्फ पाँचवटा र महिलातर्फ दुईवटा टिमको सहभागिता रहनेछ । खेल लिग र नकआउट विधिमा खेलाइनेछ ।

प्रतियोगितामा पुरुषतर्फ द सुटर, गोल हन्टर, द स्ट्राइकर्स, हक्की स्टार र यङ ब्वाइजको टिमले सहभागिता जनाउने संघका सचिव विशाल अग्रवालले जानकारी दिए । त्यस्तै, महिलातर्फ यङ गर्ल्स र रेबेल गर्ल्सको टिमले प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद १० हजार र उपविजेताले नगद पाँच हजार, ट्रफी पाउनेछ । प्रतियोगिता सम्पन्न गर्न तीन लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

बडादसैँको उपलक्ष्यमा हुने प्रतियोगिता झापामा हक्कीका खेल सामग्री खरिद गर्न र खेललाई झापामा लोकप्रिय बनाउन आयोजना गरिएको हो । प्रतियोगिता एक दिन चल्नेछ ।