कनकाई

झापाको कनकाई नगरपालिका–९ स्थित घैलाडुब्बामा समावेशी रुपमा छठ पर्व मनाइएको छ ।  घैलाडुब्बा बजार पश्चिम चप्रामारी सडक बिरिङ खोलाको किनारमा यहाँका स्थानीयबासीले समावेशी रुपमा छठ पर्व मनाइरहेका हुन् । २०४५ सालदेखि नै यहाँ छठ पर्व गरिँदै आए पनि पछिल्लो समय सबै जातजाति मिलेर समावेशी रुपमा छठ पर्व मनाउँदै आएको श्री छठ पूजा समिति कनकाई–९ घैलाडुब्बाका अध्यक्ष राजेश शाहले बताए । 

“मधेशी–पहाडी दुवै समुदायका मानिसले छठ गर्दै आएका छौं”, उनले भने , “आस्था हुने जोकोहीले छठ पर्व गर्न सक्छन् ।”

पहिला मधेशी समुदायले छठ पर्व गरे पनि अहिले अन्य समुदायका मानिसले समेत छठ पर्व गर्न थालेको बताउँदै कनकाई–९ घैलाडुब्बाका भूमि पराजुलीले भने, “हामी पनि गर्दैछौं ।”

कनकाई–९ का गोविन्दकुमार प्रधानले लामो समयदेखि यहाँ छठ पर्व मनाउँदै आएको बताए ।  “पछिल्लो पाँच÷छ वर्षयता सबैले मिलेर पूजा गर्दै आएका छौं”, उनले भने , “छठ पर्व यहाँ साझा भइसकेको छ ।”

स्थानीयबासी प्रेम उप्रेतीले २०४५ सालताका छठ पर्वका बेला यहाँका मानिस अन्यत्रै जाने गरेको बताए ।  “अहिले यहीँ भव्यताका साथ पर्व मनाउने गरिएको छ”, उनले भने,  “पर्व पनि साझा नै बनिसकेको छ ।”

छठ पर्वको अनेकौं विशेषता भए पनि पुस्तौंदेखि आफूहरुले छठ पर्व गर्दै आएको राजेश ठाकुरले बताए ।  “पहिला यहाँ हामी मधेशीमूलकाले मात्रै गर्दै आएका थियौं”, उनले भने , “अहिले सबैले गर्दै आएका छौं ।”

घैलाडुब्बामा छठ पर्वका लागि ३५ वटा घाट निर्माण गरिएको थियो ।  छठ पर्वकै अवसरमा आज सांगीतिक कार्यक्रम राखिएको थियो ।  भजन गायक कृष्ण भण्डारी लगायतका कलाकारले प्रस्तुती दिने आयोजक छठ पूजा समितिले जनाएको छ । कार्यक्रममा कन्काई ९ का वडाध्यक्ष समासजेवी शेरबहादुर थापा लगायतले शुभकामना मनतब्य राखेका थिए ।