बिर्तामोड :   बिर्तामोडमा सघन सहरी विकास कार्यक्रम अन्तर्गतका ७ वटा योजनाको काम धमाधम भइरहेको छ ।  शहरी विकास मन्त्रालयबाट बिर्तामोडमा महिला मेयर भएकै कारण आएको १३ करोड रुपैयाँ बजेटबाट ६ वटा सडकको स्तरोन्नति र एउटा भवन निर्माणको काम भईरहेको हो । योजनाहरु वडा नम्बर १,२,३,६ र ८ मा सञ्चालनमा छन् ।

वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा प्लम निर्माण भईसकेको छ । उक्त सडकमा अहिले बिजुलीका पोल व्यवस्थापन गर्ने काम भईरहेको छ । यस्तै वडा नम्बर १ कै अतिथि सदन रोडमा आगामी हप्तादेखि काम सुरु हुने जनाईएको छ । 

यस्तै वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने सडक र  वडा नम्बर ८ को गरामनी( कटहरडाँगी हुँदै हल्दीबारी जोड्ने सडकमा प्राइम लगाउने काम सम्पन्न भएको छ । उक्त सडकमा भोलिदेखि नै कालोपत्रेको काम सुरु गर्ने निमार्ण व्यवसायी  नयन बरालले जानकारी दिए ।   

यस्तै पूर्व पश्चिम राजमार्गबाट दक्षिण ुबुट्टाबारी एभरेष्ट स्कुल हुँदै हरिहर आश्रम देखि मियाबारी बिर्ताबजार जोड्ने सडकको एक हजार २४० मिटर सडक निर्माण कार्य भईरहेको  छ । बाँकी रहेको ६२० मिटर सडक खण्डको भेरियसन गरी निर्माण गर्ने व्यवस्था मिलाउने कार्य भईरहेको नगरपालिकाले जनाएको छ । 

  सोही योजना अन्तर्गत वडा नम्बर ६ को हरियाली सामुदायिक वनमा एउटा भवन निर्माणधिन अवस्थामा छ । सामुदायिक भवनको करिब ९० प्रतिशत काम सम्पन्न भएको ठेकेदार बरालले जानकारी दिए ।  

सबै योजनाको गत भदौ २० गते नगर प्रमुख पवित्रा महतारा प्रसाईले एकमुष्ठ शिलान्यास गरेकी थिइन । ७ वटै योजनाको एकीकृत रुपमा शान्ति उद्धेश्य निर्माण सेवाले  भ्याटबाहेक ६ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएर काम गरीरहेको छ ।  ठेकेदार बरालले आगामी बैशाखसम्ममा सबै काम सम्पन्न गर्ने जानकारी दिए । 

निर्माणधिन योजनाहरुको नगर प्रमुख प्रसाईले नियमितरुपमा अनुगमन गर्दै आइरहेकी छन् । उनले हर्कलाल मार्ग, गोकुल जोशी मार्ग लगायत विभिन्न नगर स्तरीय योजनाहरुको काम अघि बढीरहेको जानकारी दिइन ।