झापा
झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । हिजो भएको उपनिर्वाचनमा चापालक चुनाव चिह्न लिएर उठेका ५५ वर्षीय स्वतन्त्र उम्मेदवार ओली चार सय ९३ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए ।
उनले निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका ५७ वर्षीय तुलराम बस्नेतले तीन सय ५६ मत प्राप्त गरेका थिए ।
सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसका ४५ वर्षीय राम गोपाल ओलीले तीन सय १७ मत, नेकपा (माओवादी केन्द्र)का ४९ वर्षीय गणेशबहादुर थापाले दुई सय ७७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका ५९ वर्षीय नारायणप्रसाद निरौलाले २६ प्राप्त गरेका छन् ।
यसैगरी, मंगोल नेशनल अर्गनाजेशनका ४९ वर्षीय पदनबहादुर तामाङले २० मत, जनमत पार्टीका ६९ वर्षीय शुकलाल राजवंशीले नौ मत, नागरिक उन्मुक्ति पार्टीकी २४ वर्षीया जनमुना राजवंशीले छ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ३७ वर्षीय दलबहादुर श्रेष्ठले दुई मत प्राप्त गरेका छन् । कनकाई–६ का वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि हिजो भएको उपनिर्वाचनमा ७१.५१ प्रतिशत अर्थात एक हजार पाँच सय १३ मत खसेको थियो । यहाँ एक हजार ५८ जना महिला र एक हजार जना पुरुष गरी कूल दुई हजार ५८ जना मतदाता रहेका छन् ।
कनकाई–६ मा गत २०७९ को स्थानीय तहको निर्वाचनमा एमाले दीर्घबहादुर थापाले पाँच सय आठ मत ल्याएर विजयी भएका थिए । भने हालका विजयी स्वतन्त्र उम्मेदवार ओलीले चार सय चार मत ल्याएर उपविजेता बनेका थिए ।