बिर्तामोड : जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा प्रत्येक वर्ष प्रदान गरिने कृति तथा पुरस्कृत प्रतिभा छनौट गरिएको छ ।
कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले कृति तथा प्रतिभा छनौट उपसमितिले निर्णय गरेर ल्याएका नामलाई छलफल गरी अनुमोदन गरेको हो ।
संस्थाले २०८० सालमा प्रकाशित कृतिहरु मध्येबाट बर्षोत्कृष्ट कृतिका रुपमा भारत कालेम्पोङ निवासी राजेन्द्र भण्डारीद्वारा लिखित कृति सृजन सन्दर्भ नामक लेख संगालोलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रतिष्ठानले प्रदान गर्दै आएको विशेष प्रतिभा पुरस्कार तथा सम्मानबाट बिर्तामोड निवासी वरिष्ठ अधिवक्ता, कवि तथा साहित्यकार लीला उदासीलाई प्रदान गरिने निर्णय भएको छ ।
त्यसैगरी धनमाया महिला पत्रकारिता वर्ष पुरस्कारबाट स्वस्तिका आचार्य सिटौला र अपाङ्गता प्रोत्साहन पुरस्कारबाट झापा अर्जुनधारा निवासी खेम रेग्मीलाई प्रदान गरिने निर्णय भएको कोषका अध्यक्ष प्रसाईले जानकारी दिनुभयो ।
अध्यक्ष प्रसाईका अनुसार बर्षोत्कृष्ठ कृति, विशेष प्रतिभा पुरस्कार र धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारको राशी समान नगद २५÷२५ हजारसहित सम्मान पत्र रहेको छ भने अपाङ्गता प्रोत्साहन पुरस्कारको ११ हजार नगदसहित सम्मान पत्र रहेको कोषका कोषाध्यक्ष डिल्लीप्रसाद प्रसाईले बताउनु भयो ।
पुरस्कृत प्रतिभालाई आगामी फागुन ७ गते संस्थाको आफ्नै सभाहलमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान प्रदान गरिने बताइएको छ ।
कोषका अध्यक्ष प्रसाईले आफ्ना माता पिताको सम्मानका खातिर २०५९ सालमा जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको स्थापना गरी साहित्य र पत्रकारिताको उन्नयनका लागि पुरस्कार सम्मान गर्दै आएको छ ।
शुरुमा बर्षोत्कृष्ठ कृतिबाट पुरस्कार प्रदान गर्न शुरु गरेको कोषले क्रमिक रुपमा धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार, विशेष प्रतिभा सम्मान तथा पुरस्कार र अपाङ्गता प्रोत्साहन पुरस्कारको स्थापना गरि वितरण गर्दै आएको छ ।
साहित्य, पत्रकारिता र विभिन्न प्रतिभाको पहिचान गरी बार्षिक रुपमा चारवटा विधामा पुरस्कार प्रदान गर्दै आएको संस्थाले केही समय साहित्यिक पत्रिकाका रुपमा केचना विशेषाङ्क समेत प्रकाशन गरेको थियो । साहित्यका हरेक विधालाई त्यत्तिकै सम्मान गर्दै आएको संस्थाले छन्द दिवसको सन्दर्भ बारेर साहित्यिक कार्यक्रम समेत गर्दै आएको छ ।