विराटनगर । एक साताअघि धरानस्थित पाँच कन्याको जङ्गलमा मृत फेला परेकी चुनकुमारी बुढाथोकीको हत्या श्रीमानले नै गराएको खुलेको छ ।

वैदेशिक रोजगारीका क्रममा कोरियामा रहेका चुनकुमारीका श्रीमान् प्रेम दाहालले एक भारतीय नागरिकलाई हत्याको सुपारी दिएको प्रहरी अनुसन्धानबाट खुलेको हो । हत्यामा प्रेमका देवर, देवरानी र नन्दले समेत भारतीयलाई सघाएको प्रहरी स्रोतले बतायो ।

हत्या गराउन देवार देवरानी र नन्दले भारतीयलाई सहयोग गरेको देखिएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर २ घर भई इटहरीमा डेरा लिएर बस्दै आएकी बुढाथोकी चैत २५ गते धरानको जङ्गलमा अर्धनग्न अवस्थामा भेटिएकी थिइन् ।

३४ वर्षीय चुनकुमारी बुढाथोकीको हत्या उनकै श्रीमान् प्रेम दाहालको योजनामा भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालउ कोशीका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक भिम दाहालले श्रीमानको योजनामा हत्या भएको बताए । उनले सुपारी दिएर श्रीमतीको हत्या गराएको जानकारी दिए ।

वैदेशिक रोजगारीमा रहेका दाहाल कोरियाबाट केही समय अघि घर आएका थिए । उनी घर आएर ३ महिना अघि कोरिया नै फर्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कोरिया फर्किँदा नै उनले श्रीमतीको हत्या गराउन एक जना भारतीय नागरिकलाई सुपारी दिएका थिए । सुपारी समातेका भारतीयलाई परिवारका सदस्यले सहयोग गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चुनकुमारीको पतिसँग सम्बन्ध बिग्रिएको थियो । १६ वर्ष अघि विवाह गरेका दाहाल र मृतक चुनकुमारीका १३ बर्षीया छोरा छन् । आमा छोरा डेरा गरी इटहरीमा बस्दै आएका थिए ।

घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार श्रीमान् प्रेम दाहालले आफ्नी श्रीमतीको हत्याका लागि भारु पाँच लाखको सुपारी दिएका थिए ।

प्रहरीका अनुसार श्रीमती हत्याको सबै योजना बनाएपछि दाहाल कोरिया गएका थिए । उनी श्रीमतीको हत्याको योजना बनाउन नै कोरियाबाट नेपाल आएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रेमले श्रीमतीको हत्याका लागि भारु पाँच लाख रुपैयाँ दिने कबोल गरेका थिए ।

त्यसपछि हत्या गर्नका लागि एक भारतीय नागरिक आएका थिए। श्रीमतीको हत्याका लागि ती भारतीयलाई ३० हजार रुपैयाँ एडभान्स दिएको र बाँकी रकम काम सम्पन्न भएपछि दिने सर्त रहेको थियो। ’

हत्यामा संलग्न ५ जना पक्राउ

धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीय चुनकुमारी बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न रहेको आरोपमा ३ पुरुष र २ जना महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरू चुनकुमारीका देवार देवरानी र नन्द समेत छन् ।

उनीहरूलाई काठमाडौँलगायत विभिन्न स्थानबाट पक्राउ गरेर ल्याइएका विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन बिहीबार म्याद थप गरिएको छ । प्रहरीका अनुसार धन सम्पत्ति र जग्गा सम्बन्धी विवादका कारण श्रीमान् श्रीमतीका बिचमा विवाद रहेको थियो । उनी दुई वर्षदेखि इटहरीमा बस्दै आएकी थिइन् ।