झापाको भद्रपुर–९ प्रकाशपुरस्थित कैलाशेश्वर शिव पाञ्चायन मन्दिर शिवगौरी सेवाश्रममा अक्षयकोष स्थापना एवम् मिन्दर सञ्चालन व्यवस्थापनका लागि श्रीमद्भागवत् महापुराण धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ ।

यही बैशाख १६ गते मंगलबारदेखि २४ गतेसम्म महायज्ञ हुन लागेको आज पत्रकार सम्मेलन गरी महापुराण मूल आयोजक समितिले जानकारी दिएको हो ।

ख्यातिप्राप्त कलाकारहरूको साथमा प्रमुख वाचक आचार्य पण्डित छन्दुराम भण्डारीको मुखारविन्दबांट कथा प्रवचन तथा पण्डित नविन शरण भट्टराईको मुखारविन्दबाट पाठपारायण हुने मूल आयोजक समितिका अध्यक्ष चूडामणि मैनालीले जानकारी दिए ।

महापुराणको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गर्ने कार्यक्रम तय भएको छ भने उपप्रमुख राधा कार्कीलगायत जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीलगायत सरकारी निकायका प्रमुखहरुलाई पनि आतिथ्यका लागि निमन्त्रणा गरिएको समितिका सचिव अनुज खतिवडाले जानकारी दिए ।

महापुराण उद्घाटनपश्चात झाँकीसहित निकालिने वृहत् कलश यात्राले मेची नदीबाट जल उठाई पुनः मन्दिर आइपुग्ने कार्यक्रम रहेको खतिवडाले बताए । कलशयात्रामा अधिक सहभागिता बटुल्न विभिन्न धार्मिक संघ–संस्था, भजन समूह, आमा समूहहरुलाई आमन्त्रण गरिएको छ भने कलशयात्रीलाई आवश्यकता अनुसार ओसार–पसारका लागि बसको व्यवस्था गरिएको आयोजकले जनाएको छ । स्थानइ प्रज्ञा उकाडेमी, विभूति विद्या मन्दिर र ग्यालेक्सी स्कूलले वस उपलब्ध गराउने सचिव खतिवडाले जानकारी दिए ।

महापुराणमा दैनिक कथावाचनका साथै कथाअनुसारको झाँकी पनि प्रस्तुत हुने बताइएको छ ।

महापुराण सञ्चालनका लागि २०१ सदस्यीय मूल आयोजक समिति गठन गरिउको छ भने विभिन्न १६ वटा उपसमिति बनाइएको छ । महापुराणबाट ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । महापुराणको खर्च कटाएर बाँकी रहेको रकमबाट अक्षयकोष स्थापना र मन्दिर व्यवस्थापनमा खर्च गरिने अध्यक्ष मैनालीले जानकारी दिए ।

स्थानीय दानवीर रत्नबहादुर भण्डारी र तारादेवी भण्डारीले दुई कट्ठा क्षेत्रफलमा मन्दिर निर्माण गरी वि। सं। २०७१ सालमा समुदायलाई हस्तान्तरण गरेपश्चात समुदायस्तरबाट २०७३ सालमा महापुराण आयोजना गरी प्राप्त दान–दातव्य थप चार कट्ठा जग्गा खरिद गरी हाल ६ कट्ठा क्षेत्रफलमा मन्दिरसँगै गुरुआश्रम र भान्छाघर निर्माण भएको छ भने सामुदायिक हल निर्माणाधीन अवस्थामा रहेको बताइएको छ ।