बिर्तामोड 

झापाको बिर्तामोडमा खुला फुटसल प्रतियोगिता हुने भएको छ । 

यही बैशाख १९ र २० गते हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरको आयोजनामा नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिता आयोजना गरिएको सेन्टरका सञ्चालक तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वअन्तरिम प्रशिक्षक प्रवेश कटवालले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी र मेडल तथा उपविजेताले नगद ५० हजार, ट्रफी र मेडल पाउने  

अर्का सञ्चालक सञ्जीव प्रसाईंले जानकारी दिए। प्रतियोगितामा नेपाल र भारतका ३२ वटा टिमको सहभागिता रहने अर्का सञ्चालक गणेश कटवालले जानकारी दिए । झापाका २०, सुनसरी, इलाम र पाँचथरका ९ तथा भारतका ३ टिम प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, ट्रफी र मेडल पाउनेछ भने उच्च गोलकर्ता र गोलकिपरले नगद पाँच हजार, ट्रफी र मेडल प्राप्त गर्ने सञ्चालक प्रसाईंले बताए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद एक हजार पाँच सय, ट्रफी र मेडल पाउनेछ ।