भद्रपुर
नेपाल रेडक्रस सोसाइटी झापा शाखाले अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । रेडक्रस झापा शाखाको आज ५१ औं वार्षिक साधारणसँगै अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा आएको हो ।

झापा शाखाले रू ७५ लाखको लगायतमा अत्याधुनिक ल्याबसहितको रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको झापा शाखा सभापति लोकराज ढकालले जानकारी दिए । अब एक पोका रगतबाट तीन–चार जनाको आवश्यकता पूर्ति गर्न सकिने उनले बताए ।
“रगतका विभिन्न तत्वलाई छुट्याउने कम्पोनेन्ट मेसिन स्थापना गरिएको छ”, उनले भने, “जसबाट रातो रक्तकोष, सेतो रक्तकोष, प्लेट्लेस र प्लाज्मालाई छुट्याउन सकिन्छ, जसलाई जे आवश्यक छ अब त्यही दिन सकिन्छ ।”

_1736908732.jpg)
कोशी प्रदेशमै ‘पहिलो’ अत्याधुनिक ल्याब स्थापना भएको बताउंदै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत निर्माण व्यवसायी महासंघको रू ६० लाख र रेडक्रस झापाको रू १५ लाख गरी रू ७५ लाखको लागतमा ल्याब स्थापना गरिएको जानकारी दिए ।
ल्याब स्थापना भएसँगै भद्रपुर र झापाको दक्षिणी भेगका बिरामीले रगतको कम्पोनेन्ट तथा अन्य परीक्षणको लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ । भद्रपुरमा २०३९ सालमा शुरु भएको आकस्मिक रक्तसञ्चार सेवा केन्द्र हाल आधुनिक ल्याबसहितको रक्त सञ्चार सेवामा परिणत भएको छ । झापामा छ वटा रक्तसञ्चार सेवा मार्फत रगत व्यवस्थापन गर्दै आएको छ ।

यता, झापामा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा अन्तरगत चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १६ हजार तीन सय २५ युनिट रगत संकलन गरिएको छ ।
झापाको भद्रपुर, बिर्तामोड र दमकमा सञ्चालित रक्त सञ्चार केन्द्र मार्फत सोही अवधिमा १७ हजार दुई सय ३४ युनिट रगत बिरामीलाई वितरण समेत गरिएको रक्त सञ्चार सेवा केन्द्र झापा शाखाले जनाएको छ ।