विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ओछ्यानमै थलिएका झापाको मेचीनगर १२ स्थित सहरेडाँगी सरस्वती टोलका प्रेम बर्देवालाई आर्थिक सहयोग गरिएको छ ।
बिर्तामोड ५ स्थित पाथिभरा टोल सुधार संस्थाको जीवनविज्ञान जीवन योग प्रयोगशालाले प्रथम वार्षिक उत्सवको अवसर पारेर आज बर्देवाको घरमै पुगेर आर्थिक सहयोग गरेको हो।

पाथिभरा टोलका जेष्ठ नागरिक अध्यक्ष भवानीप्रसाद चिमरियाले बर्देवाकी श्रीमती सम्झना बर्देवालाई नगद १३ हजार हस्तान्तरण गरेका छन्। पाथिभरा टोलका अध्यक्ष नारायणप्रसाद चिमरियाको नेतृत्वमा गएको टोलीले सहयोग प्रदान गरेको हो। विगत केही वर्षदेखि चिमरियाले आफ्नो वैवाहिक वर्ष गाँठ सहित विभिन्न कार्यक्रममा खाद्यान्न नगद लगायतका सहयोग बर्देवालाई गर्दै आइरहेका छन् ।

_1736908732.jpg)
चिमरियाकै आग्रह र अनुरोधमा आज जीवन विज्ञान जीवन योग प्रयोगशालाको टोली सहयोगका लागि बर्देवाको घर पुगेको हो।

घरयासी कामले ताप्लेजुङको ग्रामीण क्षेत्रमा रहेको आफ्नो घरबाट आफन्तकामा जाने क्रममा २०७५ साल असार २६ गते गाडीबाट लडेर बर्देवा घाइते भएका थिए। गम्भीर घाइते भएका बर्देवाको बिएनसी अस्पतालमा उपचार गरिएको थियो।
तथापि उनी पूर्ण रुपमा स्वस्थ हुन सकेका छैनन् उनको कम्मरदेखि तलको भागहरु चल्दैन ।
अर्काकै सहायताले उनलाई यताउति गर्नुपर्छ । दिशा पिसाब उनको एकै ठाउँ छ।
जेनतेन मजदुरी गरेर उनकी श्रीमतीले अहिले घर खर्च चलाइरहेकी छिन्। तर पनि उनी आर्थिक अभावका कारणले गर्दा सामान्य घाउ ड्रेसङ गर्नका लागि पनि समस्या भएको बताउँछिन् ।
उनको कमरदेखि तलको भागले केही पनि स्पर्शहरु थाहा पाउँदैन। उनको मलद्वार पनि अहिले घाउ भएको छ । ओछ्यानमै थलिएका बर्देवाको अवस्था देखेपछि आफूहरुले विगतदेखि नै सहयोग गर्दै आइरहेको पाथिभरा टोल विकास संस्थाका अध्यक्ष नारायणप्रसाद चिमरिया बताउँछन्।
बर्देवाको एक छोरी र एक छोरा छन्। सम्पत्तिको नाममा दाताहरूको सहयोगबाट जोडिएको चार धुर जग्गा छ ।
त्यसैमा एउटा टिनको छाप्रो निर्माण गरिएको छ। आर्थिक अभावका कारण श्रीमानलाई मासिक ८ देखि १० हजारको औषधि नियमित खुवाउनुपर्ने भएपनि नसकिरहेको बताउँछिन् ।
उनले सबै दाताहरूसँग सहयोगको अपेक्षा समेत राखेकी छन्।
स्थानीय सरकारहरुले आफूहरुलाई उपेक्षा गरेको उनको गुनासो छ। सहयोग हस्तान्तरण कार्यक्रममा जेष्ठ अध्यक्ष भवानीप्रसाद चिमरिया, योग गुरु पुष्पा गौतम , टोलका अध्यक्ष नारायणप्रसाद चिमरिया, सल्लाहकार रामप्रसाद उप्रेती, प्रकाश उप्रेती, पदम प्रसाई, महिला अध्यक्ष , निर्मला कंडरिया , सचिव , छवि कृष्ण बराल , विष्णु राई लगायतको टोलीले नगदसहित फलफुल बर्देवा परिवारलाई वितरण गरेको हो।