अर्जुनधारा, पूर्वाञ्चलकर्मी एवम् नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य अमित खम्बू पुरस्कृत भएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ झापाको शनिबार सम्पन्न भएको २१औं परिषद् सभामा चन्द्रमान राई स्मृति पुरस्कारबाट पूर्वाञ्चलकर्मी खम्बू पुरस्कृत भएका हुन् ।  

महासंघका अध्यक्ष वेदप्रकाश भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि महासंघका राष्ट्रिय कार्यसमिति सदस्य रोहिणीप्रसाद गौतम, महासंघ कोशी प्रदेश सदस्य खेम सिटौला र अध्यक्ष भण्डारीले उनलाई सम्मान पत्र, नगद पुरस्कार सात हजारसहित दोसल्ला ओढाई पुरस्कृत गरेका थिए ।

Screenshot_20250510-165352_Facebook

पत्रकारिताको माध्यमबाट सामुदायिक वनको हक, हित र अधिकार स्थापना साथै वनको संरक्षण र व्यवस्थापनमा पु¥याइएको योगदानको मूल्याङ्कन गर्दै पत्रकार खम्बूलाई पुरस्कृत गर्ने निर्णय कार्यसमितिले गरेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

त्यसैगरी चन्द्रमान राई स्मृति पुरस्कारबाट डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत जीवनप्रसाद पाठकलाई पनि सम्मान पत्रसहित नगद पुरस्कार सात हजार र दोसल्ला ओढाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै स्थानीय तहमा रहेको उत्कृष्ट सामुदायिक वन उपभोक्ता महासंघतर्फ अर्जुनधारा नगर सामुदायिक वन उपभोक्ता महासंघ, उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहतर्फ हल्दीबारी–२स्थित भेलागुडी सामुदायिक वन उपभोक्ता समहु, उत्कृष्ट समूह अध्यक्षतर्फ

कचनकवलस्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनराज गुरुङ र कनकाईस्थित कनकाई सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ख्यामप्रसाद ओली र उत्कृष्ट कार्यसमिति सदस्यतर्फ श्यामराज पुरी पुरस्कृत भएका छन् ।

मेचीनगर–१३स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आयोजित कार्यक्रममा संस्थाको सांगठनिक प्रतिवेदन अध्यक्ष भण्डारीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष देविका अधिकारीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महासंघ कोशी प्रदेश सदस्य सिटौला, पुरस्कृत व्यक्तित्व सहायक वन अधिकृत पाठक, महासंघका सल्लाहकार सदस्य दिव्यप्रसाद कट्टेल, मेचीनगर सामुदायिक वन उपभोक्ता महासंघकी

अध्यक्ष जानुका ओली, आदर्श नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खगेन्द्र आचार्य, दियालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अरुण राईलगायतले मन्तव्य राखेका थिए ।

वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार, उद्यमशिलता र सशक्त संगठन समृद्धिको आधार भन्ने मुख्य नारासहित आयोजित कार्यक्रममा स्वागत उपाध्यक्ष चन्द्र तामाङले र कार्यक्रमको सञ्चालन सचिव खीमप्रसाद आङबोले गरेका थिए ।