जिल्ला प्रहरी कार्यालय झापाका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूले जिल्लामा शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् । 

केहि दिन अघि झापाको कमाण्ड सम्हाल्न आइपुगेका एसपी लिम्बुले आज जिल्ला प्रहरी कार्यालयको सभाहलमा जिल्लाका सञ्चारकर्मीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा 

 प्रहरी सेवा थप नागरिकमैत्री बनाउँदै प्रहरीसम्मको पहुँचलाई बृद्धि गर्ने उल्लेख गरेका छन् ।  उनले जिल्लामा विकराल तथा भयावह बन्दै गएको लागुऔषध नियन्त्रण, आत्महत्या, मानव बेचबिखन, सवारी दुर्घटना, चोरी पैठारी नियन्त्रण  लगायत शान्तिसुरक्षासँग सबै कामलाई चुस्त र प्रभाकारी बनाउने बताए । 

अन्तक्रियामा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरुले मोटरसाइकल चोरी, लागुऔषध नियन्त्रण, प्रतिबन्धित औषधि बिक्री वितरण लगायतका बिषयमा  नियन्त्रण र नियमनका लागि सुझावसँगै प्रहरीको भूमिकाका बारेमा जिज्ञासा राखेका थिए ।

सञ्चारकर्मीको प्रश्न तथा जिज्ञासाको जवाफ दिंदै  प्रहरी प्रमुख लिम्बूले प्रहरीको एकल प्रयासले भन्दा पनि सबैको साथ र सहयोगले मात्र जिल्लामा शान्ति तथा सुव्यवस्था कायम गर्न सकिने बताउंदै सञ्चारकर्मीलाई सहयोग गर्न आग्रह गरे । 

एसपी लिम्बुले मोटरसाइकल चोरी नियन्त्रणका लागि चेकिङमा ब्लबुकमा फोटो र चेचिस नम्बर समेत हेर्न निर्देशन दिइसकेको बताए । 

चोरी पैठारी नियन्त्रण, ब्लाकमेलिङ, सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने जस्ता गतिविधिलाई प्रहरीले निगरानी गर्ने उल्लेख गरे ।