काठमाण्डौ – आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । अहिले पनि बागमती प्रदेशका थोरै ठाउँ तथा कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज सात वटै प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि–मनसुनी गतिविधि सक्रिय रहेका कारण केही दिनयता लगातारजसो पानी पर्दै आएको छ ।

अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली छ । हिमाली थोरै क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।