अर्जुनधारा :  झापाको अर्जुनधारा नगरपालिकाले यहाँका युवालाई लोक सेवा आयोगको तयारी कक्षा प्रदान गरेको छ ।

बढ्दो युवा विदेश पलायनलाई रोक्नुका साथै स्वदेशमै रोजगारी र सरकारी प्रशासनिक क्षेत्रमा प्रवेश गराउने उद्देश्यले नगरपालिकाले दुई महिने लोकसेवा आयोगको तयारी कक्षा प्रदान गरिएको हो ।

अर्जुनधारा नगरपालिकाको चार लाख रुपैयाँ आर्थिक सहयोग र फाउण्डेसन अफ नोभा एजुकेसनको आयोजनामा गत चैत १० देखि जेठ १० गतेसम्म सञ्चालित तालिमको आज समापन गरिएको छ ।

समापन कार्यक्रम अर्जुनधाराकी उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षमा भएको थियो । उपप्रमुख पराजुलीले यस्ता कार्यक्रमहरू विगतका वर्षदेखि नै गर्दै आएको बताउनुभयो । उहाँले युवालाई अब्बल र योग्य बनाएर स्वदेशमै टिकाउने नगरको लक्ष्य अनुरुप तालिम प्रदान गरिएको बताइन । 

image-42

कक्षा १२ उत्तीर्ण नगरभरिका जेहेन्दार र विपन परिवारका छात्रछात्रालाई विशेष लक्षित गरी तालिम आयोजना गरिएको नगरपालिकाकी सामाजिक विकास संयोजक भोला परियारले बताए । 

तालिम समापन अवसरमा नगरपालिकाका लेखा अधिकृत गोविन्द रिजाल, शनिश्चरे बहुमुखी क्याम्पसका निमित्त प्रमुख कृषन थापा लगायको आतिथ्य रहेको थियो ।