काठमाडौँ — नेपाली महिला राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा सोमबार थाइल्यान्डसँग २–० ले पराजित भएको छ । पथुम थानीको धम्मासत रंगशालामा भएको खेलमा थाइल्यान्डले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

गोलरहित पहिलो हाफपछि थाइल्यान्डका लागि ५९ औं मिनेटमा चात्चावान रोडथोङले पहिलो गोल गरिन् । यो फ्रि–किकबाट सम्भव गोल रह्यो । त्यसपछि ७४ औं मिनेटमा पिचायतिदा मानेवाङले दोस्रो गोल थपिन् ।

यसै खेलबाट नेपालका लागि मनमाया दमाइले डेब्यु गरिन् । नेपाल यसअघि बन्द रंगशालामा भएको खेलमा थाइल्यान्डसँग १–० ले पराजित भएको थियो । नेपाल एसियाकप छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमणमा निस्केको हो ।