झापा

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभाका बारेमा आमनागरिकलाई अझै पनि बुझाउन नसकिएको बताएका छन् । 

आज झापाको बिर्तामोडमा संसदीय पत्रकार मञ्च कोशी प्रदेश र प्रदेश सभा सचिवालय कोशी प्रदेशको सहयोगमा आयोजित ‘संसदीय रिपोर्टिङमा डिजिटल मिडिया र सूचनाको प्रयोग सम्बन्धी तालिम’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको व्यापक चर्चा भए पनि प्रदेश सभाको विषयमा आमनागरिकलाई बुझाउन नसकिएको बताए । 

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका प्रमुख सचेतक गोपाल तमाङले कोशी प्रदेशले सञ्चार विधेयक निर्माण गरिरहेको बताए । 

पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले कोशी प्रदेशका सबै जिल्लाका पत्रकारलाई संसदीय पत्रकारिताको अभ्यास अवसर दिनुपर्नेमा जोड दिइन ।  पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले कोशी प्रदेशमै झापा सबैभन्दा धेरै पत्रकार र सञ्चार गृह रहेकाले संसदीय पत्रकारिताको रिपोर्टिङका लागि तालिमले सहयोग मिल्ने धारणा राखे । 

कार्यक्रममा प्रदेश सभा सदस्य निमसरी राजवंशीले संसदमा उठाएका कुरा जनता माझ पुर्याउन पत्रकारले अधिकतम् प्रयास कलम चलाउनुपर्ने बताइन । 

त्यस्तै, प्रदेश सभा सदस्य लखीकुमारी गणेश , गोपाल तामाङ ,गोपाल विश्वकर्मा , छविलाल चुडाल, राधाकृष्ण खनाल लगायतले बोलेका थिए । 

तालिममा कोशी प्रदेश सभा सचिवालयका शाखा अधिकृत निरोज ढकाल संसदीय पत्रकार मञ्चका सल्लाहकार विवेक गौतम र कोशी प्रदेशका मुख्यमन्त्री प्रेस सल्लाहकार विक्रम लुइँटेलले सांसद र पत्रकारबीच सूचनाको प्रवाह, जवाफदेहिता र पारदर्शिताको विषयमा प्रशिक्षण दिएका थिए । 

संसदीय पत्रकार मञ्च कोशी प्रदेश अध्यक्ष कुमार लुइँटेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मञ्चका सचिव सुमन सुस्केराले गरेका थिए ।