झापामा सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेट क्वाटर समुदाय विपद् स्वयंसेवक तालिमको थालनी गरेको छ । आज एक कार्यक्रमकाबिच दक्षिणी कचनकवल गाउंपालिकाबाट तालिम सुरु भएको हो । 

कचनकवल गाउँपालिकाको सहकार्यमा आजबाट सुरु भएको तालिमको  प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशी र बिशिष्ट अतिथि झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीले संयुक्त  रूपमा समुद्घाटन गरेका छन् । तालिम असार १९  गते सम्म सञ्चालन हुने शसस्त्र प्रहरीले जनाएको छ  । 

२ नम्बर गणका  गणपति सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीले  स्वागत तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।  

उनले  विपद् स्वयंसेवक आधारभुत तालिम पाठ्यक्रम २०८१  बमोजिम खोज तथा उद्धारमा खटिने स्वयंसेवकको क्षमता विकास गर्नुका साथै विपद् स्वयंसेवकहरुलाई स्तरिय आधारभुत तालिम प्रदान गर्न कचनकवल गाउँपालिकाका सातै वडाको प्रतिनिधित्व हुने गरी १४ जना प्रशिक्षार्थी सहभागी गराईएको बताए ।  

60331c3a-aaa8-4c3a-82b5-c0da15c99a72

समुदाय विपद् स्वयंसेवक तालिम जम्मा १८ कार्यको रहने र  उक्त तालिमद्वारा प्रशिक्षार्थीहरुलाई विपद्को परिचय, नेपालमा घट्न सक्ने सम्भावित विपद्हरु, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालको भूमिका, विपद्को समयमा अन्य सरोकारवाला

निकायहरुसंग गरिने समन्वय, भत्केका संरचनाहरुमा गरिने खोज तथा उद्धार, जल उत्पन्न प्रकोप र त्यसमा गरिने उद्धार, डोरीद्धारा गरिने उद्धार, अग्नि नियन्त्रण, प्राथमिक उपचार तथा सडक दुर्घटना जोखिम न्यूनिकरण लगायत विविध विषयहरु समावेस गरी सैद्धान्तिक तथा व्यवहारिक दुबै पक्षमा ज्ञान प्रदान गरिने गणपती भण्डारीले जानकारी दिए । 

बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीले  यस क्षेत्रमा विभिन्न प्रकारका प्राकृतिक तथा मानव श्रृजित विपद्को जोखिम उच्च रहेकोले त्यस्ता चुनौतीहरूलाई सामना गर्न समुदाय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्नु एक महत्वपुर्ण उपलब्धी हुने र यस्ता तालिम झापाका अन्य पालिकाहरूमा समेत गराउन आवश्यक रहेको औंल्याएका थिए । 

प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष राजबंशीले यस्तो  प्रकृतिको तालिम आफ्नो पालिकामा संचालन गर्न पाउदाँ अत्यन्त हर्षित भएको र यस तालिमबाट प्रशिक्षार्थीहरूलाई प्राप्त हुने सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले भोलीका दिनहरूमा हुनसक्ने बिपद् प्रकोप उद्धारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।