झापा : झापाको बिर्तामोडमा स्वास्थ पर्यटन मार्ट २०८२ आयोजना हुने भएको छ । नेपाल टुरिजम बोर्डको आयोजना र नाट्टा कोशी प्रदेश तथा होटल व्यवसायी संघ झापाको सह आयोजनामा बिर्तामोडमा आगामी असार १४ गते “दोस्रो हेल्थ टुरिजम मार्ट” आयोजना हुने भएको हो ।
आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक शेखर ढकालले नेपालमा बढ्दो स्वास्थ्य पूर्वाधार र चिकित्सा सेवामा भएको प्रगति तथा भारत, भुटान लगायत मुलुकहरूसँगको भौगोलिक पहुँचलाई मध्यनजर गर्दै स्वास्थ्यलाई पर्यटनसँग जोड्न स्वास्थ्य पर्यटन मार्ट आयोजना गर्न लागिएको जानकारी दिए ।

मार्टमा प्रदेश १ भित्रका विशेषगरी झापाका प्रमुख अस्पताल, क्लिनिक, आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र, साथै पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, होटल व्यवसायीहरूको सहभागीता रहने नाटा कोशी प्रदेशका पूर्वअध्यक्ष उदय श्रेष्ठले जानकारी दिए ।
गत वर्ष आयोजना गरिएको स्वास्थ्य पर्यटन मार्टमा ७० वटा स्टल रहेका थिए । आँखासँगै क्यान्सर रोगको उपचारका लागि झापामा भारत र भुटानका लागि बिरामीहरू सेवा लिन आउने गरेको श्रेष्ठको भनाई छ । अस्पतालहरूसँग सहकार्यमा उपचारपछि यहाँका पर्यटकीय गन्तव्यहरूमा उनीहरूलाई पुर्याएर पर्यटन प्रवर्धनमा थप टेवा पुर्याउन सकिने उनी बताउंछन् ।

_1736908732.jpg)
गतवर्ष आयोजित स्वास्थ्य पर्यटन मार्टले प्रत्यक्ष परोक्ष रूपमा यहाँको स्वास्थ्य क्षेत्र र पर्यटनको प्रवर्धनमा मद्दत मिलेको श्रेष्ठले बताए ।
पत्रकार सम्मेलनमा पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले भारतको पश्चिम बङ्गाल बिहार राज्य सँगै भुटान बङ्गलादेशका निम्नमध्यम परिवारका बिरामीहरू उपचारका लागि झापा आउने गरेको बताए । उनले यस्ता कार्यक्रमले यहाँको स्वास्थ्य क्षेत्रको सधैँ पर्यटनको पनि प्रवर्धन गर्न मद्दत मिल्ने बताए ।

कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहँदा सोको प्रचारका लागि पनि यस्ता कार्यक्रमहरूमायहाँका पर्यटकको गन्तव्यहरूको व्यापक प्रचार गर्न जरुरी रहेको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा नाटाका महासचिव नवीन खरेल, होटल व्यवसाय संघ झापा अध्यक्ष इन्दिरा श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन होटल व्यवसाय संघ झापाका महासचिव शिवराज पौडेलले गरेका थिए ।
हेल्थ टुरिजम मार्टमार्फत नेपालका स्थानीय बासिन्दा मात्र होइन, छिमेकी राष्ट्रका नागरिकहरूलाई पनि गुणस्तरीय सेवा तथा उपचारको जानकारी र सहज पहुँच दिन सकिने अपेक्षा गरिएको छ।