बिर्तामोड ।

 झापाको बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले २०८३ साउन १ गते भित्र वडा नम्बर १ लाई बालमैत्री वडा घोषणा गर्ने बताएका छन् । 

बिर्तामोडलाई बालमैत्री पालिका घोषणा गर्ने अभियान अन्तर्गत आज वडा नं। १ को कार्यालयमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आगामी दिनमा बाल श्रम तथा बाल दुर्व्यवहारमुक्त वडा निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन् । 

कार्यक्रम बिर्तामोड नगरपालिका महिला, बालबालिका तथा सामाजिक कल्याण शाखाको आयोजनामा भएको कार्यक्रममा बालमैत्री पालिका घोषणा सम्बन्धी जानकारी र स्थानीय शासनको भूमिकाबारे छलफल गरिएको छ । 

कार्यक्रममा प्रशिक्षक भरत कुसुवारले सहभागीहरूलाई बाल अधिकार, सुरक्षाको उपाय, शिक्षा, स्वास्थ्य तथा बालमैत्री संरचनाको आवश्यकता विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

शाखा अधिकृत युगकुमारी भट्टराईले अहिलेसम्म नगरका ६ वटा वडामा यस्तो कार्यक्रम सम्पन्न भइसकेको र बाँकी रहेका वडा नं। ३, ४, ५ र ७ मा समेत छिट्टै कार्यक्रम सञ्चालन हुने जानकारी दिए। कार्यक्रम वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।