झापा– झापा प्रहरीले लागूऔषध कारोबारीको सञ्जाल तोड्ने अभियानमा एक ठूलो सफलता हात पारेको छ । विशेष सुराकीको आधारमा गरिएको एक कारबाहीमा प्रहरीले हुन्डाईको क्रेटा कारमा लुकाएर ल्याइएको २०० ग्राम ३९० मिलिग्राम ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने सबै नुवाकोटका बासिन्दा हुन्, जसमा बेलकोटगढी नगरपालिका–१३ का ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दिपेश लामा र २३ वर्षीय राम तामाङ रहेका छन् । जिल्ला बाहिरबाट आएर झापालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाउन खोज्ने यो समूह प्रहरीको फन्दामा परेको हो ।

यसरी भयो अपरेशन सफल

_1736908732.jpg)
बुधबार दिउँसो, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक लोककृष्ण दाहालको नेतृत्वमा रहेको टोलीले भद्रपुर–७ स्थित आनिमार्गमा बागमती प्रदेश ०१–०२५–च ०८७७ नम्बरको क्रेटा कारलाई शंकाको आधारमा रोक्यो ।
गोप्य सूचनाका आधारमा गरिएको उक्त चेकजाँचका क्रममा गाडीभित्र चलाखीपूर्वक लुकाइएको अवस्थामा उक्त लागूऔषध फेला परेको हो ।

प्रहरीले उनीहरूको साथबाट चार थान मोबाइल समेत बरामद गरेको छ, जसले यो सञ्जालको थप रहस्य खोल्न मद्दत गर्ने अनुमान गरिएको छ ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।
यो घटना झापामा लागूऔषध कारोबारीको बढ्दो सक्रियताको पछिल्लो उदाहरण मात्र हो । प्रहरीले हालैका दिनमा यस्ता थुप्रै अपरेशन सफल पारेको छ ।
असार ७ भद्रपुरबाटै नेटा कारमा ४७ ग्राम ब्राउन सुगरसहित काठमाडौं र लम्जुङका दुई जना पक्राउ परेका थिए ।
वैशाख अन्तिमस् गौरीगञ्जबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दमक र भारतका तीन कारोबारीलाई गाडी र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो ।