बिर्तामोड :  आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ११ महिनामा दुई अर्ब ९१ करोड ९८ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

उक्त रकम गत आर्थिक वर्ष २०८०–८१ को सोही अवधिको तुलनामा नौ दशमलव २४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ९साउन–जेठ ०मा दुई अर्ब ६७ करोड २६ लाख ३१ हजार राजस्व सङ्कलन भएको कर अधिकृत एवम सूचना अधिकारी डोरराज सुनुवार जानकारी दिए ।

आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ मा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको उनले बताए । गत आर्थिक वर्षको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आर्थिक वर्षको ११ महिनाको लक्ष्यको ८५ दशमलव ६१ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।

कार्यालयले ११ महिनामा आयकरबाट एक अर्ब २६ करोड ५२ लाख, ब्याजबापत आठ करोड १६ लाख, मूल्य अभिवृद्धि करबापत ९८ करोड २८ लाख ३१ हजार, अन्तःशुल्कबापत ५५ करोड १६ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।

“कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ, यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायतका कानुनी कारबाही गर्ने गरिएको छ”, सूचना अधिकारी सुनुवारले भने ।

साथै, कार्यालयमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये एक हजार ५८८ करदातालाई निलम्बन गरिएको उनले जानकारी दिए । आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धि कर विवरण नबुझाएका ती करदातालाई निलम्बन समेत गरिएको उनको भनाइ छ ।

सूचना अधिकारी सुनुवारका अनुसार विवरण नबुझाएकालाई निलम्बन गरेसँगै ती संस्थाको कारोबार रोक्का गरिएको बारेमा उद्योग वाणिज्य संघ, उपभोक्तालगायतलाई जानकारी गराइएको छ ।