पाल्पा :  जिल्ला प्रहरी कार्यालय पाल्पाले सासुको हत्या गर्ने ज्वाइँलाई २१ वर्षपछि पक्राउ गरेको छ । २०६१ साल असार १९ गते पाल्पाको साबिक सिलुवा गाविस ९ हाल पूर्बखोला गाउँपालिका १ गुनडाँडामा ५५ वर्षीया सासु चिनीसरा सार्कीको हत्या गरी फरार रहेका सोही स्थानका ६६ वर्षीय पूर्णबहादुर सार्कीलाई २१ वर्षपछि पाल्पा प्रहरीले पक्राउ गरेको हो ।

पूर्ण बहादुर भारतमा लुकिछिपी बसेको र नेपाल फर्किने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले आज बिहान करिब ४ बजेको समयमा बाँके जिल्ला नेपालगन्ज उप महानगरपालिका–१५ स्थित जमुनाह भन्सारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

मृतको छोरीले दोस्रो बिहे गरी अन्यत्र गएपछि झगडा हुँदा पूर्ण बहादुरले कुटपिटसँगै घाँटी थिचेर हत्या गरेर भारततर्फ भागेका थिए । पूर्ण बहादुरलाई मुलुकी ऐन, २०२० को ज्यान सम्बन्धी महलको १ नम्बर बमोजिम ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत, पाल्पाबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ ९१० बमोजिम ५ दिन म्याद लिई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।