झापाको बिर्तामोड नगरपालिका–२ स्थित उज्यालो चारपाने बाल क्लबको पुनर्गठन तथा तेस्रो अधिवेशन शनिबार एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं –२ वडाध्यक्ष किसोर कुमार पौडेलले बालबालिकाको नेतृत्व विकास, सिर्जनशीलता अभिवृद्धि र सामाजिक जिम्मेवारी बोधका लागि बाल क्लबहरू महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले क्लबका आगामी गतिविधिमा वडा कार्यालयको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । 

 कार्यक्रममा बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, बिर्तामोड–२ का विभिन्न विद्यालयका फोकल पर्सन शिक्षकहरू, अभिभावक, शिक्षक, समाजसेवी, पूर्व पदाधिकारी तथा बालबालिकाको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै बाल बालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले बालबालिका समाजको उज्यालो भविष्य भएको बताए । उनले बाल बालिकाको नेतृत्व विकास, अधिकार संरक्षण र सिर्जनात्मक अभिवृद्धि गर्न यस्ता बाल क्लबहरू अत्यन्त महत्वपूर्ण रहेको बताए । 

WhatsApp Image 2025-06-30 at 08.01.31

कार्यक्रम समय सञ्जालको सहजीकरण र बिर्तामोड नगरपालिका वडा नं २ को सहयोगमा सम्पन्न भएको हो ।  अधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएका छन् । अध्यक्षमा, इशान भट्टराई, उपाध्यक्ष, समृद्धि खड्का र शोभित उप्रेती, सचिव, कृष्टिना चौधरी,सह–सचिव, उत्सल बराल, कोषाध्यक्ष, प्रियन्सु ढकाल र अरु सदस्यहरूमा सात जना चयन भएका छन् । 

कार्यक्रममा स्वागत मन्तव्य, गायन प्रस्तुति, अनुभव बाँडफाँड तथा क्लबको विगत र आगामी योजनाबारे चर्चा गरिएको थियो । नवगठित समितिले बाल अधिकार संरक्षण, सिर्जनात्मक तथा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै बालबालिकाको नेतृत्व विकास र सामाजिक चेतनामा जोड दिने प्रतिबद्धता जनाएका छन । उक्त कार्यक्रम क्लबकी पूर्व अध्यक्ष एलिजा भट्टराईको अध्यक्षतामा थियो ।