बिर्तामोड-बिर्तामोड उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ को कार्यविधि सार्वजनिक गरेको छ।
एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको यस कोषमा हालसम्म २० लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको संघले जनाएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले कोष सञ्चालनको प्रक्रिया र उद्देश्यबारे जानकारी दिएको हो। संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ले कोषको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। उहाँका अनुसार, हालसम्म ५६ जना दाताबाट कोषमा २० लाख ५४ हजार १०१ रुपैयाँ जम्मा भइसकेको छ।
संघका अनुसार, व्यवसायीहरूले आफ्नो जन्मदिन, वैवाहिक वर्षगाँठ, पितृको स्मृति जस्ता अवसरमा कोषमा उत्साहपूर्वक सहयोग गर्दै आएका छन्। यस अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमलाई प्राकृतिक प्रकोपबाट प्रभावित वा प्राणघातक रोग लागेका सदस्य व्यवसायीहरूको सहयोगमा पारदर्शी ढंगले खर्च गरिने कार्यविधिमा उल्लेख छ।
कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले यो अभियान व्यवसायीहरूको आपसी सहयोग र सद्भावको उत्कृष्ट उदाहरण भएको बताउनुभयो। उहाँले एक करोडको लक्ष्य पूरा गर्न सबै व्यवसायीलाई निरन्तर सहयोगका लागि अपिल समेत गर्नुभयो।
कार्यक्रममा कोषका कोषाध्यक्ष युवराज निरौलाले कार्यविधि वाचन गर्नुभएको थियो भने संघका महासचिव कुशल खतिवडाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा कोषका दाताहरू तथा बिर्तामोडका व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।