झापाको हल्दिबारी गाउँपालिका पूर्ण साक्षरता पालिका घोषणा गरिएको छ । झापाका १५ वटा पालिकामध्ये हल्दिबारी पहिलो पूर्ण साक्षरता पालिका घोषणा भएको हो ।गाउँपालिकाको कार्यालयमा आज पूर्ण साक्षरता पालिका घोषणासँगै पूर्ण खोप पालिका सुनिश्चितता दिगोपना घोषणा गरिएको छ ।

सोही कार्यक्रममा गाउँ शिक्षा योजनाको सार्वजनिक र शैक्षिक सत्र २०८१ को एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने ३२ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।

२०८१ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका ३२ जना विद्यार्थीलाई नगद, प्रमाणपत्रसहित सम्मान गरिएको हो । 

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा झापा क्षेत्र नं. ३ का सांसद तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो ।

प्रमुख अतिथि सांसद लिङ्देनले कार्यक्रमलाई सम्बोधन गर्दै सबैभन्दा बढी प्राथमिकता दिनुपर्ने क्षेत्र शिक्षा र स्वास्थ्य रहेको बताउनुभयो । ‘शिक्षा र स्वास्थ्यको क्षेत्रको विकास मैले जोड दिदै आएको छु’, नेता लिङ्देनले भन्नुभयो ।

उहाँले जबसम्म शिक्षा र स्वास्थ्य सबै जनताको पहुँचका रुपमा स्थापित हुँदैन, तबसम्म देशले प्रगति गर्यो भन्न नमिल्ने बताउनुभयो । बाटाहरु र ठूला–ठूला भवन बनेर पनि शिक्षा र स्वास्थ्यमा प्रगति नभए त्यसको कुनै अर्थ नरहने उहाँले बताउनुभयो । उहाँले राज्यले सबैका लागि शिक्षा, स्वास्थ्य पूर्ण रुपमा निःशुल्क हुनु पर्ने उहाँको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वडा नम्बर २ की कार्यवाहक वडाध्यक्ष रचना कुलुङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।