बिर्तामोड-नारी सञ्चार गृह झापाले पूर्व अध्यक्ष अम्बिका भण्डारीलाई १ लाख १११ रुपैयाँ राशिको ‘नारी सञ्चार साधना सम्मान’ प्रदान गरेको छ । आइतबार बिर्तामोडमा आयोजित पद हस्तान्तरण समारोहमा पत्रकार भण्डारीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

सम्भवत सञ्चार क्षेत्रबाट स्थापित प्रादेशिक तहकाे याे सबै भन्दा ठूलो राशिकाे पुरस्कार हाे ।‌

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकी प्रमुख पवित्रा महतारा प्रसाईले पूर्व अध्यक्ष भण्डारीलाई दोसल्ला ओढाएर चेकसहित प्रशंसापत्रद्वारा सम्मान गर्नुभयो । दुई दशकदेखि झापाको पत्रकारितामा क्रियाशील पत्रकार भण्डारी नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको उपाध्यक्ष हुनुहुन्छ ।

प्रेस चौतारी नेपालकी पूर्व केन्द्रीय सदस्य भण्डारी राष्ट्रिय समाचार समितिमा काम गर्दै आउनु भएको छ । नारी सञ्चार गृहको स्थापनामा समेत उहाँको महत्वपूर्ण याेगदान र भूमिका छ ।

कार्यक्रममा बाेल्दै नगर प्रमुख प्रसाईले लैङ्गिक हिंसाविरुद्ध सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले नीति निर्माण तहमा परिवर्तन हुने गरी कलम चलाउन आग्रह गर्नु भयो ।

पत्रकारिताको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै संस्थागत विकासमा गरेको योगदानको कदरस्वरूप पूर्व अध्यक्ष भण्डारीलाई सम्मान गरिएको नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले बताउनु भयो ।

यसअघि गतवर्ष नारी सञ्चार गृहले संस्थापक अध्यक्ष सावित्रा दाहाललाई उक्त पुरस्कार प्रदान गरेको थियो । पूर्व अध्यक्ष भण्डारीसँगै नारी सञ्चार गृहले २५ हजार रुपैयाँ राशिको नारी सञ्चार युवा पत्रकारिता पुरस्कार पत्रकार चिरन घिमिरेलाई प्रदान गरेको छ । नयाँ पत्रिका दैनिकमा कार्यरत घिमिरे युवा पुस्ताका मेहनती पत्रकार हुन् । यसअघि याे पुरस्कार रेडियो साथीकी समाचार प्रमुख सुष्मा राजवंशीलाई दिइएको थियो ।

कार्यक्रममा नवनिर्वाचित नेतृत्वलाई नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भयाे । अध्यक्ष गिरीले पत्रकारको सामाजिक सुरक्षाका लागि स्थापना गरिएका कोषमार्फत साझा कार्यक्रम तय गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

पुरस्कृत पत्रकारकाे व्यक्तित्वमाथि नारी सञ्चार गृहकी पूर्व अध्यक्ष भीमा सिवाकाेटीले प्रकाश पार्नु भएको थियो ।

संस्थाको एघारौँ स्थापना दिवसको अवसरमा नारी सञ्चार गृहले यी दुई पुरस्कार घोषणा गरेको थियो । नारी सञ्चार गृहले बहुआयामिक उद्देश्यसहित स्थापना गरेको कोषमा ५१ लाख रुपैयाँ भन्दाबढी जम्मा भइसकेको छ ।

तीन साताअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नारी सञ्चार गृहले पुस्तक विमोचन गर्नुका साथै कोषमा सहयोग गर्ने दातालाई सम्मान गरेको थियो ।

पद हस्तान्तरणसँगै नारी सञ्चार गृह झापाको नेतृत्व स्वस्तिका आचार्यले सम्हाल्नु भएको छ । आचार्य यसअघि कोषाध्यक्ष हुनुहुन्थ्यो । विभिन्न सङ्घसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएकी आचार्यकाे कार्यकाल अझै उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।