बिर्तामोड । 

झापाको बिर्तामोडमा सञ्चालित विएण्डसी अस्पतालले विपन्न समुदायका मुटु रोगीहरुको १ लाख रुपैयाँ बराबरको निशुल्क उपचार गर्ने भएको छ । 

विपन्नता नागरिक औषधि कार्यक्रम मार्फत मुटु रोगीहरुको निशुल्क उपचार सुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

झापामा जिल्लामा मुटु रोगीहरुको सङ्ख्या बढिरहेको तथा आर्थिक अभावका कारणले मुटु रोगीहरुले उपचारबाट बन्चित हुनु नपरोस भन्ने हेतुले यो कार्यक्रम बिएण्डसीमा लागु गरिएको अस्पतालले जनाएको छ । 

WhatsApp Image 2025-07-06 at 18.33.01

गिरीका अनुसार अस्पतालले  सो कार्यक्रम अन्तरगत मृगौला सम्बन्धी डाइलोसिस, हेड इन्जुरी, क्यान्सरको उपचार गर्दै आएको थियो । यसै कार्यक्रम मार्फत मुटु रोगीहरुको पनि उपचार सुरु गरिएको अस्पताल प्रशासनको भनाई छ । 

 चारै प्रकारका स्वास्थ्य समस्यामा १÷१ लाख बराबरको उपचार सेवा अस्पतालले निशुल्क रुपमा उपलब्ध गराउने जनाएको छ । 

 उपचार सेवा लिनका लागि स्थानीय तहबाट सिफारिस ल्याउनुपर्ने बताइएको छ ।  अस्पतालले मासिक ६०–७० जना मुटु रोगीहरुको उपचार गर्दै आएको डा. प्रितम गच्छदारले जानकारी दिए । 

साथै अस्पतालले स्किृनिङ समेत गरिरहेको छ । अस्पतालले हर्ट फाउण्डेशन सहित अन्य संघ संस्थासंगको सहकार्यमा पनि मुटु रोगीहरुको उपचार गर्दै आएको छ ।

कार्यक्रममा डा. केशव न्यौपाने मुटु रोगीहरुको समस्या, लक्षण, र उपचार पद्धतीका बिषयमा अस्पतालले प्रवाह गर्दै आएको  सेवा बारेमा जानकारी गराएका थिए ।