विराटनगर– सम्पत्ति विवादले कसरी आफ्नैलाई शत्रु बनाउँछ भन्ने एक दर्दनाक उदाहरण मोरङको रतुवामाईमा देखिएको छ । अंशबन्डाको पुरानो रिसइबीका कारण एक व्यक्तिले आफ्नै भाउजूको निर्ममतापूर्वक हत्या गरेको घटना प्रहरीले सार्वजनिक गरेको छ।

रतुवामाई नगरपालिका–६ की ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्यामा उनकै देवर ६९ वर्षीय टंकबहादुर बस्नेतको संलग्नता खुलेको हो ।

बोल्न नसक्ने ९इशाराले मात्र कुराकानी गर्ने टीकामायाको शव गत असार २१ गते आफ्नै बारीमा टाउकोमा गहिरो चोट लागेको अवस्थामा फेला परेको थियो ।

घटना शंकास्पद देखिएपछि इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा मृतकका श्रीमान् गणेशबहादुर र उनका सौतेनी भाइ टंकबहादुरबीच अंशको विवाद रहेको खुलेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, अदालतको फैसलापछि आफूले भोगचलन गर्दै आएको सम्पत्ति दाजुलाई दिनुपर्ने भएपछि टंकबहादुर भाउजूप्रति थप क्रुद्ध बनेका थिए ।

सोही रिसइबी साँधेर बसेका उनले घाँस काटिरहेकी भाउजूलाई पछाडिबाट हँसियाको बिँडले प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रहरीले घटनाको दुई दिनपछि अभियुक्त टंकबहादुरलाई उनकै घरबाट पक्राउ गरेको छ । उनको घरबाट हत्यामा प्रयोग भएको हँसियासमेत बरामद भएको छ ।

पक्राउ परेका टंकविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पारिवारिक विवादले निम्त्याएको यो दुःखद घटनाले स्थानीय स्तरमा शोक छाएको छ।