झापा : झापाको भद्रपुर–४ तारानगरस्थित पशुपति प्राथमिक विद्यालयको स्वर्ण महोत्सवको आय–व्यय सार्वजनिक भएको छ ।

सो विद्यालयको पूर्व विद्यार्थी समाजको अगुवाइमा गत चैतको अन्तिम साता स्वर्ण महोत्सव आयोजना गरिएको थियो ।  विद्यालयका पूर्व विद्यार्थी ऋषि नेपालको संयोजकत्वमा गठित स्वर्ण महोत्सव आयोजक समितिले आज विदालय परिसरमा अभिभावकहरुको भेलामा स्वर्ण महोत्सवको आय–व्यय सार्वजनपक गरेको हो । 

संयोजक नेपालका अनुसार सवर्ण महोत्सवका लागि चार लाख ५० हजार ८८७ रुपैयाँ आम्दानी भएकोमा महोत्सव सम्पन्न गर्दा तीन लाख १८ हजार बहत्तर रुपैयाँ खर्च भएको छ भने एक लाख ३२ हजार ८१५ रुपैयाँ वचत भएको छ । वचत रकम विद्यालय परिसरमा भगजान सरस्वतीको मूर्ति निर्माणका लागि विद्यालयलाई नै हस्तान्तरण गरिएको संयोजक नेपालले जानकारी दिए । सो रकम विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार राजवंशीलाई हस्तान्तरण गरिएको थियो ।

महोत्सवका अवसरमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरिएको थियो भने विद्यालयका स्थापनाकालदेखिका प्रधानाध्यापक–शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, जग्गादातालगायत सहयागदाताहरुलाई सम्मान गरिएको थियो ।

महोत्सव आयोजना गर्न देश–विदेशबाट पूर्व विद्यार्थीहरुले स्वतःस्फूर्त रुपमा उल्लेख्य सहयोग गरेका थिए भने विभिन्न संघ–संस्था र भद्रपुर नगरपालिकाले पनि आर्थिक सहयोग गरेको बताउँदै संयोजक नेपालले सहयोगी सबैलाई धन्यवाद दिँदै आयोजक समिति पनि विघटन गरिएको जानकारी दिए ।