झापा । देशभर विभिन्न स्थानमा भइरहेको लगातार वर्षाका कारण बाढी पूर्वानुमान महाशाखाले आज साउन ३ गतेका लागि सतर्कता सूचक ‘एल्लो अलर्ट’ जारी गर्दै ५१ जिल्लामा आकस्मिक बाढीको सम्भावित जोखिमबारे चेतावनी दिएको छ।

महाशाखाका अनुसार बिहानको मापनमा कोसीका सहायक नदीहरू — तमोर र कन्काई — को जलसतह सतर्कता तह नजिक पुगेको छ। नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाब अहिले सतर्कता तहभन्दा तल भए तापनि तीमा जलस्तर बढ्ने सम्भावना रहेको छ।

उच्च जोखिम भएका जिल्ला

इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुली, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, गोरखा, सल्यान, सुर्खेत, दैलेखजस्ता जिल्लामा बहने ससाना नदीमा उल्लेख्य बहाब बढ्ने सम्भावना छ।

मध्यम जोखिम भएका जिल्ला

सोलुखुम्बु, रामेछाप, भोजपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, जाजरकोट, कालिकोट, डोटी, बाजुरा, अछाम, बझाङ, जुम्ला, बैतडी, डडेल्धुरामा पनि बहाब उल्लेख्य बढ्ने सम्भावना रहेको छ।

महाशाखाले नागरिकहरूलाई सतर्क रहन र नदी किनारका क्षेत्रहरूमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।