झापा : झापामा गत आर्थिक वर्षमा साढे ४ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार गएको आर्थिक वर्ष २०८१–८२ मा ४ अर्ब ५२ करोड ८३ लाख ४१ हजार ५३४ रुपैयाँ फ्रिज भएको हो । कुल बजेटको ८३।७८ प्रतिशत रकम खर्च भई बाँकी फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख सूर्य भण्डारीले बताए । उनका अनुसार चालुतर्फ ९२ प्रतिशत र पुँजीगततर्फ ७०.०६ प्रतिशत खर्च भएको हो ।
गत वर्ष झापाको बजेट २८ अर्ब १६ करोड २७ लाख ६९ हजार ७२९ रुपैयाँको थियो । त्यसमध्ये पुँजीगततर्फ ७ अर्ब ८८ करोड ९० लाख ४७ हजार ७८० रुपैयाँ र चालुतर्फ १५ अर्ब ७० करोड ५३ लाख ९० हजार ४१४ रुपैयाँ रहेको थियो ।

_1751853734.jpg)
अघिल्लो वर्षको तुलनामा गत वर्ष बढी बजेट फ्रिज भएको हो । अघिल्लो वर्ष १ अर्ब ७० करोड ५० लाख ९२ हजार ९१० रुपैयाँ खर्च हुन नसकी सरकारको केन्द्रीय खातामा फिर्ता भएको थियो । अघिल्लो वर्ष समग्रमा ९१।५५ प्रतिशत तथा चालुतर्फ ९३.१७ प्रतिशत र पुँजीगततर्फ ८७।०१ प्रतिशत खर्च भएको थियो ।
त्यस्तै अघिल्लो वर्षको तुलनामा गत वर्ष राजश्व संकलन बृद्धि भएको छ । गत वर्ष झापामा २१ अर्ब ४२ करोड १८ लाख ४५ हजार ६०६ रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो वर्ष १९ अर्ब ४८ करोड २८ लाख ८४ हजार ९१८ रुपैयाँ राजश्व संकलन भएको थियो ।