झापा, राउण्ड टेबल बिर्तामोड २७ ले अधिकांश सीमान्तकृत समुदायका बालबालिका अध्ययन गर्ने भौतिक सुविधाले पछि परेको बाह्रदशी ३ स्थित रामनगर आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाउने परियोजना संचालन गरेको छ ।
लाखौंको बजेट खर्च गरी नमूना विद्यालय बनाउने परियोजनाअन्तर्गत पहिलो चरणमा राउण्ड टेबल बिर्तामोड २७ ले रामनगर आधारभूत विद्यालयमा खानेपानी र शौचालय निर्माण गरिदिएको हो । करिव ३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको खानेपानी र शौचालय आज एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरियो ।

_1751853734.jpg)
विद्यालयको अभिभावकत्व ग्रहण गर्दै नमूना विद्यालय बनाउनका लागि करिव ३० लाख रुपैयाँ खर्च गर्ने योजना रहेको राउण्ड टेबल बिर्तामोड २७ का अध्यक्ष मनोज गोयलले बताए । उनले सो बजेटबाट कक्षा कोठा , कम्प्युटर ,इ–लाइब्रेरी, प्लेग्रुप विद्यार्थीहरुका लागि कोठालगायतका संरचना निर्माण गरिने जानकारी दिए ।
उनले स्थानीय सरकारसंग मिलेर यी योजनाहरु सम्पन्न गरिने बताए । यसअघि सामाजिक संस्था द राउण्ड बिर्तामोड २७ ले झापाको बिर्तामोड १० स्थित चमरधाप प्राथमिक विद्यालयमा कक्षाकोठा , कम्पाउण्ड वाल, शौचालय र खानेपानी निर्माण गरिदिएको थियो ।

_1736908732.jpg)
सामाजिक संस्था राउण्ड टेबल नेपालअन्तर्गतको राउण्ड टेबल बिर्तामोड २७ ले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ । राउण्ड टेबल बिर्तामोड २७ का अध्यक्ष गोयलले सामाजिक उत्तरदायित्वअन्तर्गत शुद्ध खानेपानी र सुरक्षित शौचालय उपभोग गर्न पाउने विद्यार्थीहरुको अधिकार सुनिश्चित गर्नका लागि विद्यालयहरुलाई सहयोग गर्दै आएको बताए ।
अध्यक्ष गोयलको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाकी अध्यक्ष शान्ता शिवाकोटी खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सबै वक्ताहरुले राउण्ड टेबल बिर्तामोड २७ ले गरेको उदाहरणीय कार्यको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खरेल , बाह्रदशी ३ का वडाध्यक्ष टंकप्रसाद शाह , पूर्व वडा अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशी , बाह्रदशी सामुदायिक क्याम्पसका अध्यक्ष गंगाप्रसाद अधिकारी , विद्यालय व्यवस्थापन समितिका सदस्य झरु राजवंशी , प्रधानाध्यापक यज्ञप्रसाद थापालगायतले बोलेका थिए ।
राउण्ड टेबल बिर्तामोड २७ का सचिव दीपक मित्तलले आफ्नो संस्थाको गतिविधिबारे प्रकाश पारेको कार्यक्रमको संचालन संचारकर्मी लीला अनमोलले गरेकी थिइन् ।