झापा, २० साउन । कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय ट्रान्सफर्मर चोरीका घटनाहरू तीव्र गतिमा बढ्न थालेका छन् । २०८१ माघ १५ गतेदेखि सुरु भएका यस्ता घटनाहरूले सिँचाइ प्रभावित बनाउँदै कृषकलाई गम्भीर समस्यामा पारिरहेका छन् ।

प्राप्त जानकारी अनुसार, मोरङ जिल्लामा ८ स्थान, सुनसरीमा १२ स्थान र झापामा २ स्थानमा चोरीका घटना भएको पुष्टि भएको छ ।

साउन ९ गते राति मोरङको रंगेली नगरपालिका–९ इटाभट्टा टोलमा दुई मोटरसाइकलमा आएका तीन व्यक्तिहरू संकास्पद अवस्थामा भेटिएपछि प्रहरी देख्नासाथ फरार भएका थिए। घटनास्थल नजिकै ट्रान्सफर्मरमा चढिरहेका मोरङ ग्रामथान–४ निवासी अर्जुन कुमार थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रादेशिक अपराध अनुसन्धान समूह विराटनगरको नेतृत्वमा ३५ भन्दा बढी सादा पोशाकधारी प्रहरी परिचालित गरेर छानबिन थालिएको थियो।

चोरीमा संलग्न ७ जना र चोरीका सामान किन्ने ६ जना गरी जम्मा १३ जनालाई नियन्त्रणमा लिइएको  कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी ईश्वर कार्कीले जानकारी दिए।

उनले चोरीमा संलग्नहरूलाई पक्राउ गर्नका लागि विशेष अभियान समेत सञ्चालन गरिएको जानकारी दिए।

पक्राउ पर्नेहरूमा मोरङ, सुनसरी र भारतका नागरिकहरू समेत रहेका छन्।

प्रहरीले चोरीमा संलग्न मोरङ  ग्रामथान गाउँपालिका-४ का ४२ वर्षीय अर्जुन कुमार माझी (चौधरी), ग्रामथान-५ सिमरिया टोल का ३१ वर्षीय इरज धामी, सुनसरी दुहवी नगरपालिका-३ लबिपुर का ३५ वर्षीय अनुज विस्वास (चौधरी), मोरङ बेलबारी नगरपालिका-४ कसेनीका २६ वर्षीय अर्जुन चौधरी, भारत घर

भई हाल सुनसरी दुहवी नगरपालिका-४ मलाटीमा ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मिँया (विहारी), मोरङ बेलबारी नगरपालिका-३ का २७ वर्षीय रञ्जित तामाङ र जिल्ला सुनसरी दुहवी नगरपालिका-२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरीलाई पक्राउ गरेको छ ।

त्यस्तै चोरीको सामान खरिद गर्ने मोरङ विराटनगर महानगरपालिका ३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर महानगरपालिका-६ का ६२ वर्षीय कृष्ण गोपाल ताम्राकार, सुनसरी दुहबी-३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी-२ का ३१ वर्षीय कपिल भट्ट र सुनसरी इटहरी उपमहानगरपालिका-४ का ३९ वर्षीय सिताराम राईलाई पक्राउ गरेको छ।